रविलाई प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले नै प्रतिशोध साँध्याेः प्रचण्ड


चितवन ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए ।

राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए । 

 आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरु सन्चालनको तयारी गरेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुनेपनि उनले बताए ।

अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताएका छन ।

आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनको भनाइ छ ।

उनले भने, ‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ, अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरुलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’

रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनको थप आरोप छ । अध्यक्ष प्रचण्डले भने, ‘रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनितिक प्रतिशोधको व्यवहार देखाएको जो कसैले बुझ्न सक्छ।’

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जादा बिचौलियाहरुले संसदका पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उनको जिकिर छ ।