काठमाडौँ।
काठमाडौँको बवरमहलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा इलामको इलाम नगरपालिका ८ तिल्केनी घर भई हाल काठमाडौँको सोह्रखुट्टे बस्ने २७ वर्षीय सौगात बानिया रहेका छन् ।
ललितपुरको सातदोबाटो सेल्सबेरी अगाडीबाट मोटरसाइकल खरिद गर्ने वहानामा टेष्ट ड्राइभका लागि बाग्मती प्रदेश ०२-०३७ प ९७३५ नम्बरको कालो रातो रंगको यामाहा एम. टी. फिफ्टिन मोटरसाइकल लिएर बानिया गत मंसिर १३ गते फरार भएका थिए।
पर्वतको मोदी गाउँपालिका ५ घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने प्रसित शर्माले उक्त मोटरसाइकल खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा सोही मोटरसाइकल चलाई हिडेको अवस्थामा हिजो (आइतबार) साझ ५ बजे बबरमहलबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धानका लागि बानियालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
प्रतिक्रिया