अब मैले शिक्षासम्बन्धी केही कुरा छुस्स घुसाई पछि मात्र शक्तिमा प्रवेश गर्न चाहेँ । पहिले–पहिले हाम्रो देशमा केटा र केटीहरूको लागि छुट्टै विद्यालयको व्यवस्थासमेत गरेको हुन्थ्यो । जस्तै– पद्मोदय, पद्मकन्या, कन्या मन्दिर विद्यालय आदि । अनि उति बेला केटीहरुलाई पढाउनुहुन्न, बिग्रिन्छन् भन्ने पनि उत्तिकै थिए। उनीहरूको काम त घर–गृहस्थी चलाउनु हो नि भन्ने जनश्रुति पनि सुनिने गरिन्थ्यो । तर आजकाल त धेरै विद्यालयहरू सह शिक्षालयमै परिणत भैसकेका छन्।
सह शिक्षालय भनेको नराम्रो त पक्कै होइन । केटाकेटीबीचमा पनि एकै विद्यालयमा ज्ञान, गुण, सीप, कौशलता, अतिरिक्त क्रियाकलापबारे समेत प्रतिस्पर्धा भई स्तरको पहिचान र मूल्याङ्कन हुनु भनेको त आफ्नै खुबी, ल्यागत र क्षमताको पहिचान हो नि । यसले विद्यार्थीहरुमा हिम्मत, हौसला, आँट, मेहनत, लगनशीलता, गतिशीलता आदिको विकास भई स्तरोन्नति हुने कुरा त स्वाभाविकै छ । तर पढाइप्रति नै बढी समर्पित हुनुपर्ने कोपिलावस्थाका यी बालबालिकाहरु कतै प्रेमप्रसङ्ग, रसरङ्ग, आमोदप्रमोदतर्फ नभिजून्न/अल्झिऊन् भन्ने पवित्र भावनाले मात्र यस प्रसङ्ग यहाँ उठाइएको हो।
किनभने १०–११ वर्षजतिकै कलिला बालबालिकाहरु अश्लील व्यवहार (हर्कत) गर्दै छ्यापछ्याप्ती हिँडेको, टाँस्सिएको, मात्तिएको देखिएकोले उनीहरु कुलततर्फ नफसून् भन्ने हेतुले पोखेको हुँ। अनि अभिभावक/आमा/बाबु पनि नदेखेझैँ आँखा चिम्लिनु र कथंकदाचित भनेमा र सुनाएमा पनि जमानाको फेसन भन्दै चुप लाग्नु त विकृति र विसङ्गति निम्त्याउनुजस्तो भएन र ? १३–१४ वर्षकै उमेरमा गर्भवती भई १९–२० सम्म त तीन बच्चाको आमा/बाबु रहेको कथा, कहानी रहेको र उमेर नपुग्दै जन्मने बच्चाको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्नेबारे सचेतता जगाउँदै विषयवस्तु ‘शक्ति’मै प्रवेश गरेँ ।
यस ब्रह्माण्डमा अवस्थित पृथ्वी, जल, तेज वायु र आकाश हुन् । यिनलाई पञ्चमहाभूत पनि भनिन्छ भन्ने कुरा त अघिल्लो पाठमा पनि वर्णन गरिसकिएको छ । ब्रह्माण्ड सृष्टिको शुरुमा जति शक्ति थियो त्यसमा अहिलेसम्म एकरत्ती पनि फरक (तल–माथि) भएको छैन भन्ने विश्वास गरिएको छ । यस नजरले हेर्दा हाम्रा सबै पूर्वज, पुर्खाहरू यस ब्रह्माण्डमै शक्तिको स्वरूप फेर्दै रहेकोमा हामीलाई सन्तुष्टि र खुशी लाग्नुपर्छ । अनि चराचर जगत्का सम्पूर्ण सजीव, निर्जीव, पदार्थ, वस्तु, पहाड, पर्वत, हिमालय, नदीनाला, घर, खेत, बोटबिरुवा, जीवजन्तु, पन्छी, कीटपतङ्ग, धर्म/अधर्म, छलकपट, न्याय्र÷अन्याय, रीतिरिवाज, संस्कृति÷संस्कार, परम्परा, सभ्यता, भाषा, जन्म/मरण, सीप, पराक्रम, पौरख, त्याग, मायप्रेम, खानपिन, दिनचर्या, पाठपूजा आदि सबै शक्ति हुन् र यो ब्रह्माण्ड नै एक विशाल शक्ति केन्द्र हो । शक्तिविनाको ब्रह्माण्ड हामी कल्पनै गर्न सक्दैनौँ । कुनै न कुनै रूपमा वातावरणमा फैलिरहेका, तैरिरहेका, उडिरहेका, बगिरहेका, चलिरहेका, स्थिर रहेका हुन्छन् ।
खप्परभित्र रहने र चेतनाको स्रजक तत्व मानिने मासीजस्तो पदार्थ गिदी अर्थात् मथिङ्गल, मगज, मस्तिष्कले वातावरणबाट शक्ति प्राप्त (आर्जन) गरी रक्तसञ्चार एवं श्वासप्रश्वास ओहोरदोहोर भई मानिसले मनुष्यत्व प्राप्त गर्दछन् । यही मस्तिष्कको निष्क्रियता वा मृत्युलाई नै मानिसको मृत्यु घोषित गरिएको छ । तर मस्तिष्कको मृत्यु भए तापनि यसले मृत्युपूर्व छोडेको शक्तिको तागत, पराक्रम, हलचल निश्चित अवधिसम्म शरीरमा विद्यमान रहनाले मुटु, फोक्सो, मिर्गौला आदि झिकी अर्का रोगीको शरीरमा प्रतिष्ठापन (ट्रान्सप्लान्ट) गरी आयु लम्ब्याउन वा प्राण बचाउन सकिएको हो । यहाँसम्म मानिसको स्तर पुग्नु भनेको त एक कालखण्डमा पानी खान नपाई बालबालिका झाडाबान्ताले भटाभट मर्ने हाम्रो देशको लागि एक वरदान नै हो भने पनि फरक नपर्ला।
विभिन्न तौरतरिका र उपायद्वारा मर्न लागेको व्यक्तिलाई बचाएको कथा, कहानी, किस्सा सुनिए पनि आफैँसामु मस्तिष्क वा टाउको नै छपक्कै छिनालेर बचाएको उदाहरण र दृष्टान्त त हेरेको र देखेको छैन । बरू पुराण, पाठ, कथाहरूमा सुनिएको र पढिएको छ । साथै फिल्म, नृत्य, नाटक, मञ्चमञ्चिका आदिमा हेरेको र देखेको छु।
कालान्तरमा जाडोमा दिन लामो भई रात छोटो नहोला भन्न सकिँदैन । मानिसको आयु १२० वर्षबाट घटेर ६० वर्ष वा बढेर २०० वर्ष नहोला भन्न पनि सकिन्न । अनि मनुष्य योनिबाट पशु योनि, पशुबाट मनुष्य योनि वा पन्छी योनिमा जन्म हुन पनि सक्छ । किनभने शक्तिको रूपान्तरण वा परिवर्तन त विधिको विधान, ईश्वरीय लीला, दैविक शक्ति वा सृष्टिको संरचना र नीति–नियम नै हो ।
प्रयासरत रहने हो भने मानिसले मस्तिष्ककै सक्रियता, सजीवता, जीवन्तता हासिल गर्न सफल भइयो वा मस्तिष्कलाई लामो आयु दिगो राख्न सक्यो भने त कायापलट नै होलाजस्तो सोचेको छु । अनि मानिसको अन्तिम आयु १२० वर्षको सट्टा १६० र २०० वर्ष हुन पनि के बेर ? जहाँ इच्छा उहाँ उपाय भनेझैँ एकदिन उपाय नभेटिएला भन्न पनि सकिँदैन । किनभने यही ब्रह्माण्डमै विष पनि रहेको छ र अमृत पनि । एककालमा देव–दानवले मिलेर समुद्र मन्थन गर्दा विष पनि निस्केको र अमृत पनि निस्केको रोचक घटना त सुनेकै हो नि ।
कसै–कसैले हिमालमा आफ्नै सहपाठीको मृत्यु हुँदा खान नपाई उही मृतकको मासुको सहारामा प्राण बचाएको चर्चा यदाकदा सुनेको मात्र नभई मृतक शरीरमा पनि शक्ति सुषुप्त रहेको तथ्यलाई थप बल प्रदान गरेको छ । बगरेले बेच्न राखेको मासु हलचल गरेको देख्ने प्रत्यक्ष साक्षी म पनि हुँ ।
काँचो राँगोको मासुमा अदुवा, बेसार, नुन, खुर्सानी, मसला, प्रशस्त तेल हाली बेस्सरी मल्दामल्दै मासुलाई नरम पारी कचिलाको रूपमा मुख रसाएको र मीठो पारेको स्वाद त स्मरणमै रहेको छ । मासुको फिलोलाई सड्न नपाउने गरी घाममा सुकाएर बनाएको सुकुटी त नेवारी समुदायमा अहिलेसम्म प्रयोग र प्रचलनमै रहेको छ। अर्थात् यस्ता कचिला, सुकुटीको भक्षण वा सेवनले पनि शरीरमा शक्ति पैदा हुन्छ र वीर्यधारण प्रक्रियामा सहायक हुन सक्छ।
प्राणीको जन्मपछि मृत्यु निश्चित छ भने मृत्युपछि जन्म पनि निश्चित छ । जन्म र मृत्युको फासला, अन्तर, दूरी के–कति छ भन्ने जान्ने/बुझ्ने शक्ति र सामथ्र्य हामीमा निहित छैन । हाम्रै देशको कुनै–कुनै क्षेत्रमा मानिसको मृत्यु भएमा त्यसको शव वा लासलाई टुक्रा–टुक्रा पार्दै पन्छीहरुलाई खुवाउने गरिएको कहानी पनि सुनिएको छ। यसरी पन्छीहरुलाई मासु खुवाउँदा पन्छीहरू अनुपस्थित भएमा वा भक्षण नगरेमा अनिष्टता, अहितकर, हानिकारकको रूपमा समेत लिने गरिएको छ। अर्थात् मृतकलाई दुरात्मा, लोभी, पापी, फटाहा, कुकर्मी, अपराधी आदिको स्तरमा दाँजेर हेरिँदो पनि रहेछ।
यसरी नै लासलाई बेवारिस अवस्थामा सडकमा छोडिएमा त्यही लासमा दुर्गन्ध आई नाना थरीका हानिकारक कीटाणुले रोग फैलिन सक्ने कुरा त सत्य नै हो । तसर्थ शक्तिको उदय, उत्पत्ति रोगको रूपमा वा औषधिको रूपमा पनि हुन सक्ने कुरा त छर्लङ्गै छ।
समय, काल, परिस्थितिअनुसार फेरबदल, रूपान्तरण र परिवर्तन भई कालान्तरमा जाडोमा दिन लामो भई रात छोटो नहोला भन्न सकिँदैन । मानिसको आयु १२० वर्षबाट घटेर ६० वर्ष वा बढेर २०० वर्ष नहोला भन्न पनि सकिन्न । अनि मनुष्य योनिबाट पशु योनि, पशुबाट मनुष्य योनि वा पन्छी योनिमा जन्म हुन पनि सक्छ । किनभने शक्तिको रूपान्तरण वा परिवर्तन त विधिको विधान, ईश्वरीय लीला, दैविक शक्ति वा सृष्टिको संरचना र नीति–नियम नै हो। मृत्युपश्चात् हाम्रो जन्म जुन योनिमा भए पनि फरक पर्दैन । किनभने जे–जसरी जन्मियो, त्यही लवाइ–खुवाइ, रहनसहन, भोग–भोगाइ हामीलाई प्यारो लाग्छ।
तसर्थ आत्मा र परमात्माको बहस र विवादलाई थन्क्याई आ–आफ्नो रुचि हिन्दु, बौद्ध, मुस्लिम, ख्रिश्चियन (इसाई) सिख वा अन्य कुनै धार्मिक मूल्य–मान्यता र संस्कारअनुसार विष्णु, शिव, बुद्ध, अल्लाह आदिलाई विधाता, ईश्वर, देवता, भगवान् मानी पूजापाठ, भजनकीर्तन, अर्पण गरी हृदयमा राख्नुसिबाय अरु चारा र उपाय देखिन्न ।
(क्रमशः मंगलबार)











प्रतिक्रिया