विद्युत् प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन


काठमाडौं ।

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ।

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ।

टोलीले प्याकेज–१अन्तर्गत १४० मि. अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो।

कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत रुपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो।

तनहुँ हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराएका थिए।

टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी,नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको थियो। जग्गा सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो।