काठमाडौं ।
ऐतिहासिक कमलपोखरीको जग्गा मासेर बनाइएको छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसलाको पुस ४ गतेको सारेको छ। सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रहेको सो मुद्दाको फैसला सोमबार तय गरिएकोमा सोमबार अन्तिम समयमा पुस ४ गतेका लागि सारिएको हो।
१५ थान मुद्दामा संयुक्त इजलासमा कात्तिक ७ गतेदेखि निरन्तर सुनुवाइ शुरू हुँदै कात्तिक १४ गते बहस टुंग्याएको थियो। हिजो अन्तिम फैसला हुने प्रतीक्षामा संस्कृति, सम्पदाप्रेमीहरू अदालतमा परिसरमा जम्मा भएका थिए। अन्तिममा पुस ४ गतेसम्मको सारिएको सम्पदा अभियन्ता भागवतनरसिंह प्रधानले बताउनुभयो।
काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै सर्वोच्चमा ४०औं पेशीबाट निरन्तर सुनुवाइ शुरू भएको थियो। काठमाडौं महानगर–२६, ठमेलको भगवान् बहालस्थित विक्रमशील महाविहारको पूर्वतर्फ सयौं वर्ष पुरानो कमलपोखरीमा बल मिच्याइँ गर्दै पृथ्वीबहादुर पाण्डेसहित ‘शक्तिशाली’ ४३ व्यवसायीको समूहले व्यापारिक भवन छाया सेन्टर ठड्याएपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले न्यायालय गुहारेका थिए । कित्ता नं १६७ क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा र २ दाम जग्गा मासेर बैंकर पाण्डले छायादेवी कम्पलेक्स बनाई २०७५ सालदेखि सञ्चालनमा ल्याउनुभएको थियो ।
बैंकर पाण्डेले ठमेल भगवान बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग राखेर सर्वोच्च अदालतमा १५ थान मुद्दा दायर गरिएको थियो। २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले सो मुद्दा दायर गरेका थिए।
९ वर्षदेखि १४ पटक हेर्न नमिल्ने, ५ पटक हेर्न नभ्याउने र स्थगित हुँदै आएको सो विवादसम्बन्धी मुद्दा अदालतले २०८१ माघ २२ गतेदेखि सुनुवाइ शुरू गरेको थियो। अदालतले सबै मुद्दा एकसाथ राखेर हेरेको थियो।
प्रतिक्रिया