वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा छ : उपमहासचिव ज्ञवाली

658
Shares

म्याग्दी।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–कांग्रेस गठबन्धनको वर्तमान सरकारप्रति निजी क्षेत्रको भरोसा रहेको बताएका छन् । एमाले जिल्ला कमिटी म्याग्दी पार्टी स्कुल विभागको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

एमाले उपमहासचिव ज्ञवालीले अहिले वर्तमान सरकार बनेको ५ महिना पुग्नै लाग्दा यो बीचमा केही महत्वपूर्ण कामहरुको सुरुवात भएको बताए । मुलुकको अर्थतन्त्रमा ठूलो शिथिलता रहेको अवस्थामा अहिलेको सरकार आइसकेपछि निजी क्षेत्रले केही भरोसा गरेको उनले बताए । अहिलेको सरकारप्रति निजी क्षेत्रले भरोसा गरेको बताउँदै उनले भने, ‘अहिले पनि सङ्कटबाट मुक्त भैसकेको छैन अर्थतन्त्र । गर्नुपर्ने थुप्रै कामहरु छन् । तर, अहिले पनि व्यवसायीहरुलाई के भरोसा छ भने विकास बुझ्ने प्रधानमन्त्री हुनुहुन्छ । विकास बुझ्ने अर्थमन्त्री हुनुहुन्छ । दुईवटा ठूला दलहरु छन् । अहिले बनेका र भएका नीतिहरु दीगो हुन्छन्, त्यसो भएर अब लगानी गर्दाखेरी हामी सुरक्षित हुन्छौं भनेर निजी क्षेत्रलाई विस्तारै भरोसा जाग्न थालेको छ ।’

देशलाई राजनीतिक निकास र विकास निर्माणलाई गति दिनको लागि मुलुकका दुई ठूला दल एमाले र कांग्रेस मिलेर अहिलेको सरकार बनेको बताउँदै उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र लयमा फर्काउने, द्वन्द्व व्यवस्थापनको सुरुवात, हवाई क्षेत्रको विकास र चीनसँग बिआरआईलगायत महत्वपूर्ण सन्धि तथा सम्झौताहरु गरेको बताए । उनले अहिलेको सरकारले सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन निर्माण गरी आयोग गठन हुने प्रक्रियामा रहेकाले २०औं वर्षदेखि थाती रहेको द्वन्द्व व्यवस्थापनको कामलाई पूर्णता दिएर द्वन्द्वपीडिहरुलाई न्याय दिने कामको सुरुवात भएको दावी गरे।

प्रशिक्षण कार्यक्रमलाई एमाले उपमहासचिव ज्ञवालीसहित स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिट व्यूरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, केन्द्रीय सदस्य नरदेवी पुन, पार्टी स्कुल विभागका सचिव घनश्याम कोईराला, एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, पार्टी स्कुल विभाग सदस्य सुन्दर लामिछाने र एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सहजीकरण गरिरहेका छन्।

प्रशिक्षण शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता एमाले अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । तीन दिनसम्म चल्ने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको नारा भने ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने रहेको छ । प्रशिक्षण शिविरमा एमाले म्याग्दीको जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी लगायतको उपस्थिति रहेको छ ।