काठमाडौँ।
नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक एरी बास प्यालेष्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको बताएका छन् । उनले बिहीबार पत्रकारहरुसँगको छलफलमा आफूले अरब स्रोतबाट जोशी जीवितै रहेको जानकारी पाएको बताएका हुन् ।

उनले भने–‘जोशी जीवितै छन् भन्ने सम्म चाहिँ मैले अरब स्रोतबाट थाह पाएको छु । तर कुन अवस्थामा कहाँ राखिएको छ भन्नेबारे भने कुनै जानकारी छैन ।’
उनले जोशी छिट्टै रिहा भएर घर फर्कने आशा व्यक्त गर्दै भने– ‘अपहरणमा परेकामध्ये अहिलेसम्म एक सय ५४ जना फर्काइसकिएको छ । तीमध्ये केही रिहा गरिएका हुन् भने केहीको उद्धार गरिएको हो । बाँकी एक सय एक जना बन्धकहरुलाई पनि फर्काइने प्रयास जारी छ । तीमध्ये एक जोशी पनि पर्ने छन् भन्ने हाम्रो विश्वास छ ।
इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका १७ नेपाली विद्यार्थीहरुमध्ये गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आतंककारी आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो भने ६ जना घाइते र एक जना जोशी अपहरणमा परेका थिए ।

छलफलमा उनले इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच गत २७ नोभेम्बरमा युद्धविराम सम्झौता भएको भएता पनि आफ्नो नागरिकमाथि पुनः कुनै प्रकारको आक्रमण भएमा इजरायलले प्रतिकार गर्ने बताए । यो युद्धविरामपछि एकातिर हमास एक्लिएको विश्लेषण भइरहेको छ भने अर्कोतिर हिजबुल्लाहले यसलाई शक्ति संचय गर्ने अवसरको रुपमा उपयोग गर्नसक्ने चर्चा पनि चलिरहेको छ ।











प्रतिक्रिया