अहिलेको जमानामा विदेशीहरु मात्रै नेपलमा पदयात्रा गर्न आउने नभएर नेपाली युवा पुस्ताहरु पनि देशको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जान थालेका छन्, जुन आर्थिकलगायत धेरै कोणबाट हेर्दा उपयोगी मानिन्छ। खास गरीकन चाडबाडका अवसरमा हुने लामो छुट्टी अर्थात् बिदामा नेपाली युवा पुस्ता स्वदेश तथा विदेशमा घुम्न जाने क्रम बढिरहेको छ।
हिन्दु धर्मावलम्बीहरुले मान्ने चाडपर्वमध्ये दशैँ–तिहारको अवसरमा सरकारले दिने लामो बिदालाई सदुपयोग गर्न नेपालका युवायुवतीहरु स्वदेश तथा विदेशमा घुम्न जाने क्रम बढेको छ । जबकि अलि अघिका पुस्ताका मानिसचाहिँ घरै बसेर रमाइलो गर्ने, मासुभात खाने, जुवा–तास, लङ्गुर–बुर्जा, तेलकासा आदि खेल्ने, जाँड–रक्सी पिउने, आफन्तकहाँ आशिष लिन जने गर्थे । तर, अहिले त जमाना फेरिएको छ । त्यसैले लामो बिदा मिल्यो कि नयाँ पुस्ताका मानिसहरु स्वदेश तथा विदेशमा घुम्न जान रुचाउँछन्।
यसै क्रममा यस लेखमा नेपालमा रहेका उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्न जाने ट्रेकर्सहरुलाई लक्षित गरेर केही जानकारीमूलक, सूचनामूलक अनुभवहरु सँगालेर प्रस्तुत गर्दछु। किनभने, पछिल्लोपटक अधिकांश नेपाली युवायुवती मध्यम, उच्चमध्यम र उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने क्रम बढेको छ। यसरी उच्च हिमाली क्षेत्रमा पयदयात्रा गर्न जाने क्रममा ज्यान गुमाउने पदयात्रीहरुको संख्यामा वृद्धि भइरहेको भन्ने समाचारहरु पनि पछिल्लोपटक मिडियामा आइरहेको देखिन्छ।
नेपालमा रहेका उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्न जाने ट्रेकर्सहरुमध्ये बर्सेनि कोही न कोहीले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन्। केही समयअघि राष्ट्रिय समाचार समिति (रासस) लाई उद्धृत गर्दै नेपालका प्रायः सबै मिडियाहरुमा आएको समाचारअनुसार आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी र धवलागिरि अञ्चलमा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रमा ट्रेकिङ (पदयात्रा) गर्न जाने पदयात्रीमध्ये अस्थायी रोग ‘लेक’ लागेर (हाई अल्टिच्युड सिकनेसले) विभिन्न देशका २१ जनाले आफ्नो अमूल्य जीवन गुमाएका छन् ।
आ.व. २०८०/०८१ मा अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गर्न जाँदा लेक लागेर आफ्नो अमूल्य जीवन गुमाउनेहरुमा ११ जना भारतीय, ६ जना नेपाली, मलेसियन २ जना र युक्रेनी तथा बेलायती १–१ जना ट्रेकर्स रहेका छन् । अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जाने क्रममा लेक लागेर जीवन गुमाउनेहरुमा बढीजसो थोरोङ–ला (थोराङ डाँडो) पास गर्ने क्रममा परेका छन् ।
हुन पनि जब ट्रेकर्सहरु ३ हजार मिटरको उचाइमा पुग्छन्, तब उनीहरुमा लेक लाग्ने (हाई एल्टिच्युड सिकनेस) लक्षणहरु देखा पर्न थाल्छन् । खासमा यो रोग अस्थायी रोग हो भने यो रोग सबैलाई नलागेर कसै–कसैलाई मात्रै लाग्छ । स्मरणीय के छ भने, यो रोगले च्याप्दाच्याप्दै रोगीले ढाँटेर वा अटेर जबरजस्ती अझ माथि जान खोजेमा त्यो व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसैले पर्वतारोहण वा पदयात्रा क्षेत्रमा ३ हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा ३००–३५० मिटरभन्दा माथि क्याम्प गर्नुहुँदैन वा बास बस्नुहुँदैन भन्ने मान्यता रहेको छ । किनभने जति उचाइमा गयो उति अक्सिजनको मात्रा कम हुँदै जाने हुन्छ । त्यस्तै न्यानो कपडाको अभाव, पानी कम पिउनु, कमसल खाना खानु, शारीरिक कमजोरी आदिका कारणले पनि पदयात्रीहरु बिरामी पर्न सक्ने सम्भावना रहन्छ । समुद्र सतहमा शतप्रतिशत अक्सिजन पाइन्छ भने जति माथि गयो, उति अक्सिजनको मात्रा घट्दै जान्छ।
‘हाई अल्टिच्युड सिकनेस’बाट बच्नलाई यो रोगका लक्षण देखा पर्नासाथ बच्ने उपाय गरिहाल्नुपर्छ । यो रोगको लक्षणहरुमा वाकवाक लाग्नु, टाउको दुख्नु, थकाइको अनुभव गर्नु, हिँड्दाहिँड्दै निद्रा लाग्नु, एक वस्तुलाई दुई वा त्योभन्दा बढी देख्नु (डबल भिजन), हिँड्दा खुट्टाले ठीक ठाउँमा टेक्न नसक्नु, जाँडले मातेर लड्खडाउँदै हिँडेजस्तो हिँड्नु आदि हुन्। यस्ता स्वास्थ्य समस्याबाट बच्न सर्वप्रथम न्यानो लुगा लगाउने, पानी प्रशस्त पिउने, बिस्तारै हिँड्ने, भेटेसम्म तातो झोल पदार्थ धेरै खाने गर्नुपर्छ। चुरोटको धुवाँ तथा गन्धले पनि धेरै असर गर्ने भएकोले चुरोट नखानु र यसको गन्धबाट बच्नुपर्छ।
हिमाली क्षेत्रमा जाँदा कसै–कसैलाई दिमागमा पानी जम्ने हाई अल्टिच्युड सेरेब्रल एडमा ‘हेस’ र फोक्सोमा पानी जम्ने हाई अल्टिच्युड पुल्मोनरी एडमा ‘हेप’को समस्या देखिन सक्छ । ‘हेस’को लक्षणहरुमा खप्नै नसक्ने गरी टाउको दुख्नु, बान्ता हुनु, जीउ सन्तुलित नहुनु, दिमागले ठीक ढंगले काम नगर्नु, एक वस्तुलाई एकभन्दा बढी देख्नु, बेहोस हुनु आदि हुन् भने ‘हेप’को लक्षणहरुमा आराम गरेको बेलामा पनि श्वास बढ्नु, बेस्सरी खोकी लाग्नु, खोक्दा दिमाग नै थर्केजस्तो महसुस गर्नु, छातीमा घ्यारघ्यार आवाज आउनु, शरीर सुन्निनु, हातखुट्टाका औँला र नङमा नीलोपना देखिनु आदि हुन् । त्यस्तै अत्यधिक चिसोले कठ्याङ्ग्रिनु, स्नो ब्लाइन्डनेस (आँखा नदेख्नु), हिउँले आँखा खानु, बान्ता हुनु, झाडापखाला लाग्नु, आकस्मिकरुपमा चोटपटक लाग्नु आदि अरु स्वास्थ्य समस्या हुन् ।
उल्लिखित रोगमध्ये ‘हेस’को रोकथामका लागि बिरामी कम उचाइमा झर्नुपर्छ र पोर्टेबल च्याम्बर, बिरामीलाई भित्र हालेर पम्प गर्ने स्पेसल ब्याग (ग्यामो ब्याक) मा राखेर पम्प गर्नुपर्छ । यसरी पम्प गर्दा बिरामी बिस्तारै सुधारमा आउँछ । साथै बिरामीलाई आवश्यक औषधि पनि खान दिनुपर्छ । बिरामी बेहोस छ भने इन्जेक्सन पनि लगाउन सकिन्छ । त्यस्तै ‘हेप’को रोकथामको लागि पनि बिरामी कम उचाइमा झर्नु नै उत्तम मानिन्छ । जे होस्, लेक लागेको बिरामीलाई उत्तानो पारेर सुताउनुपर्छ । त्यसपछि ‘ग्यामो ब्याग’ प्रयोग गर्नुपर्छ।
लेक लागेको बिरामीलाई उत्तानो पारेर सुताउनुपर्छ। त्यसपछि ‘ग्यामो ब्याग’ प्रयोग गर्नुपर्छ। यसो गर्नाले भित्र प्रेसर गई बिरामीलाई अक्सिजन पूर्ति हुन्छ र भित्र रहेको कार्बनडाइअक्साइड बाहिर जान्छ । सिकिस्त बिरामीलाई ५–६ सेकेन्डको अन्तरमा पम्प गरिरहनुपर्छ। एकजनाले चाहिँ बिरामीले बोल्न सक्छ कि सक्दैन भनेर हेर्दै गर्नुपर्छ।
यसो गर्नाले भित्र प्रेसर गई बिरामीलाई अक्सिजन पूर्ति हुन्छ र भित्र रहेको कार्बनडाइअक्साइड बाहिर जान्छ । सिकिस्त बिरामीलाई ५–६ सेकेन्डको अन्तरमा पम्प गरिरहनुपर्छ । एकजनाले चाहिँ बिरामीले बोल्न सक्छ कि सक्दैन भनेर हेर्दै गर्नुपर्छ । बिरामीले अवस्था हेरी १५–२० मिनेटमा नै बोल्न, हाँस्न थाल्छ । सिकिस्त बिरामी भए ३–४ घण्टा पनि लाग्न सक्छ । त्यसपछि बिरामीलाई जति सक्दो तल (कम उचाइमा) झार्नुपर्छ । बिरामीलाई आराम गराउने, पानी प्रशस्त (दैनिक ४–५ लिटर) खुवाउनुपर्छ । पानी खान नमानेमा झोल खानेकुरा प्रशस्त दिनुपर्छ। चिसोबाट बच्न न्यानो कपडा लगाउन दिनुपर्छ।
नेपालमा हरेक वर्षको जनै पूर्णिमालगायत अन्य पर्वहरुमा दामोदर कुण्ड, मुक्तिनाथ (मुस्ताङ), गोसाइँकुण्ड (रसुवा), दूधकुण्ड (सोलुखुम्बु), पाँचपोखरी (सिन्धुपाल्चोक), सभापोखरी (संखुवासभा), फक्ताङलुङ, पाथीभरा (ताप्लेजुङ) आदि क्षेत्रमा धार्मिक उद्देश्यले तीर्थयात्रीहरु भ्रमण गर्न जाने गरेका छन् । ती धार्मिक स्थलहरु नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित छन् । यसरी विगतमा हिमाली क्षेत्रमा रहेका तीर्थस्थलहरुमा धार्मिक उद्देश्य बोकेर जाने कतिपय तीर्थयात्रीहरु प्रायः न्यानो कपडा, तागतिलो खाना, प्रशस्त पानी र सुरक्षित बासस्थानको अभावमा अनेकौँ सास्ती खेपिरहेका हुन्थे । हुन पनि हिन्दु धर्मावलम्बीहरु पवित्र तीर्थस्थल जाँदा खाली खुट्टा जानुपर्छ मान्यताले खाली खुट्टा नै हिँड्थे, अधिकांश तीर्थयात्रीले आङमा लगाउने लुगा र राति ओढ्ने लुगासमेत न्यानो र भरपर्दो बोक्दैनथे ।
उनीहरुले तागतिलो खानाको व्यवस्था गर्ने त टाढाको कुरो भयो । अहिले चाहिँ मानिसमा आएको चेतनासँगै दुखाइ कम गर्ने, घाउ सफा गर्ने, कीटाणु मार्ने औषधि, त्यस्तै चर्को घामबाट बच्न सन क्रिम, लोसन आदिका साथै चोटपटक लागेमा प्राथमिक उपचार गर्न चाहिने मलहम पट्टी, टेप, प्लास्टर, कपास, कैँची, चिम्टा, ज्वरो नाप्ने डिग्री, सियो, धागो, मेडिकल ग्लोब, सिटामोल, डायमक्स साथै बोकेर जाने गरेका छन् ।
आजभोलि लामो बिदाको सदुपयोग गर्न स्वदेशका विभिन्न ठाउँमा घुम्न निक्लने नेपालीहरु धेरै हुने गर्छन् । उच्च हिमाली क्षेत्रमा बिदा मनाउनका लागि घुम्न जाने पदयात्रीहरुले यात्राका क्रममा आफूलाई चाहिने सामान बोक्नै पर्छ । जस्तो– न्यानो कपडा, औषधिहरुमा दुखाइ कम गर्ने, घाउ सफा गर्ने, कीटाणु मार्ने, त्यस्तै गरेर चर्को घामबाट बच्न सन क्रिम, लोसन आदिका साथै चोटपटक लागेमा प्राथमिक उपचार गर्न चाहिने मलहम पट्टी, टेप, प्लास्टर, कपास, कैँची, चिम्टा, ज्वरो नाप्ने डिग्री, सियो, धागो, मेडिकल ग्लोब, सिटामोल, डायमक्स साथमा बोक्नु राम्रो हुन्छ। एवम् रीतले यात्राका क्रममा तागतिलो खाना, प्रशस्त पानी र सुरक्षित बासस्थानका लागि ध्यान दिनु पनि उत्तम हुन्छ।











प्रतिक्रिया