विश्वव्यापीरुपमा युवाहरुलाई केन्द्रित गरी स्टार्टअप अभियान सञ्चालन भइरहेका छन् । यसमा युवाहरुको डिजिटल कमाइ लोभलाग्दो देखिएको छ । वर्तमान डिजिटल युगमा युवाहरुले ब्लगिङबाट कमाइरहेका छन् । उनीहरुले सोसल मिडिया (युट्युब, फेसबुक, इन्स्ट्राग्राम) बाट आफ्नो उत्पादन विक्री र प्रवद्र्धन गरिरहेका छन्।
केही युवाले घरमै बसेर फ्रिलान्सिङबाट पनि कमाएका छन्। केहीले होम क्यान्टिनबाट अफिस, कलेजमा खाना पुर्याई सेवा र आम्दानी दुवै एकैसाथ गरेका छन्। केही युवाले भर्चुअल असिस्टेन्ट भई आम्दानी गरेका छन्। केहीले कल सेन्टर सञ्चालन गरेका छन्। केही युवाले इफ्रेन्डबाट डिजिटल समस्याको समाधान गरी आय आर्जन गरेका छन्। यसरी, अधिकांश युवाहरु स्टार्टअप अभियानअन्तर्गत डिजिटल प्लेटफर्ममा सहभागी भएका छन्।
वर्तमान समय सूचना प्रविधिको युग हो । यसर्थ, विश्वका ठूला कम्पनीहरु– एप्पल, माइक्रो सफ्ट, गुगल, एमाजोन, एनभिडियालगायत सूचना प्रविधिमा आधारित छन् । विश्वव्यापी स्तरमा यिनीहरुको कमाइ उच्च छ । गत आ.व.मा हामीले पनि रु. ८० अर्ब बराबरको सूचना प्रविधिमा आधारित सेवा निकासी गर्यौँ। केही वर्षमै यसलाई ५ खर्बमा वृद्धि गर्न सकिने सम्भावना आँकलन गरिएको छ। यसबाट नयाँ ५ लाख रोजगारी उपलब्ध हुनेछ। यसका लागि पूर्वाधारमा लगानी र कानुनी संरचनामा सुधारको खाँचो छ। नेपालको भूगोल, ऋतु र तापमानका आधारमा ठूला डाटा सेन्टर र क्लाउड स्थापना गर्न सकिने सम्भावना छ । यसर्थ, हामीले यसतर्फ हाम्रो प्राथमिकता केन्द्रित गर्नुपर्छ।
हाल जेनजी पुस्ताको जमाना हो । यो पुस्ता रिमोट वर्किङमा अभ्यस्त हुँदै गएको छ। जेनजी पुस्ताका आइकन उद्यमीहरु– बेन फ्रान्सिस (फिटनेस पहिरन), बेन्जामिन किक (स्निकर्स रिसेलिङ व्यवसाय), मोजियाह (बो टाई), इवान स्पिजेल (स्यान्याप च्याट), एलिना मेर्स (जोली पप), ग्रेटा थुनवार्ज (जलवायु परिवर्तनकी अभियन्ता) लगायत हुन्। यी पुस्ताले स्टार्टअपका फाइदाहरु बुझेका छन् । जसअनुसार आफ्नो सपना साकार पार्न, नाम र दाम कमाउन र आत्मसन्तुष्टिका लागि युवापुस्ता स्टार्टअप अभियानमा सहभागी भएका छन्। साथै, यिनीहरु आफूबाट इन्नोभेसन हुने, सामाजिक प्रतिष्ठा आर्जन हुने, अरुका लागि प्रेरणाको स्रोत बन्न सकिने कारण पनि स्टार्टअप अभियानसँग जोडिएका छन्। मेटलाइफ र युएस चेम्बरको अध्ययनअनुसार सामान्यतः स्टार्टअप व्यवसायीहरु औसतमा दैनिक १४ घण्टा काम गर्छन्।
स्टार्टअप लगानीकर्ताहरुले लगानीको आरम्भ बुट स्ट्र्याप फन्डिङबाट गरेको पाइन्छ। यसपछि सिड मनी र ए, बी, सी र डी राउड फन्डिङबाट लगानी भएको बुझिन्छ। साथै, आईपीओ जारी गरेर पनि लगानी जुटाइन्छ। अधिकांश स्टार्टअपहरु नवप्रवद्र्धनमा जुटेका छन्। विश्व इन्नोभेसन सूचक (जीआईआई) मा स्वीट्जरल्यान्ड, स्विडेन, अमेरिका, सिंगापुर र बेलायत उत्कृष्ट मुलुकमा पर्दछन्। एसियामा सिंगापुर, कोरिया, चीन, जापान र इजरायल अग्रस्थानमा छन्।
सिंगापुरको जीआईआई ६१.२ छ भने नेपालको १८.१ छ। हामी विश्वमा १०९औँ स्थानमा छौं। यसै गरी, वैज्ञानिक आविष्कारका क्षेत्रमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र जापान अग्रस्थानमा छन् । अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडमा चीन, अमेरिका, रसिया, दक्षिण कोरिया, सिंगापुर, भियतनाम, ताइवान, इन्डियाका विद्यार्थीले स्वर्णपदक जित्दा नेपालका विद्यार्थी ४२५औँ र ४८७औँ स्थानमा परेका छन् । यसबाट हामी पछाडि रहेको बुझिन्छ । यसमा सुधारको जरुरत छ ।
हालै यसै पंक्तिकारको नेतृत्वमा रहको सीआईजीपी नामक संस्थाले इनलोगस् नामक संस्थासँगको सहकार्यमा इनोभेसन र स्टार्टअपका सम्बन्धमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको थियो । जसमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले सञ्चालनमा ल्याएका मध्ये स्टार्टअप कार्यक्रम सफलताको संघारमा रहेको कुरा बताउनुभएको थियो । उहाँले यो वर्ष १ अर्ब रुपियाँबाट करिब ६ सयदेखि एक हजार उद्यमीलाई सघाउन सकिने राय व्यक्त गर्नुभयो । तर, प्रस्ताव आह्वान गर्दा पाँच हजारभन्दा बढीले उद्यमी बन्ने इच्छा प्रकट गरेकाले वाणिज्य बैंकहरुले बाँकी प्रस्तावकर्तालाई सघाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रस्तुत सन्दर्भमा यस कार्यक्रमलाई सघाउने नबिल बैंक, नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिपका तर्फबाट उक्त बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल एसएसईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रुपान्तरणमा सक्रिय रहेको बताउनुभएको थियो। उहाँका अनुसार नबिल एसएसईबाट आठ सयभन्दा बढीले उद्यमशीलतासम्बन्धी प्रशिक्षण लिएको र १२ सय रोजगारी सृजना गर्न सफल भएको छ। यसरी, नवीन सोच भएका र आफ्नै खुट्टामा उभिन खोज्नेलाई उक्त बैंकले सघाइरहेको छ।
गरिबी घटाउन र राष्ट्रिय आत्मविश्वास बढाउन सरकारले एक हजार स्टार्टअप आरम्भ गरी एक लाखलाई रोजगारी दिने ध्येय लिएको छ । सरकारले क्रियटिभ इकोनोमी र इनोभेटिभ सोलुसनको ध्येय राखेको छ । स्वदेशमै केही गर्ने नवीनतम् र सृजनशील सोच भएकालाई सरकारले सहुलियतमा ऋण दिने अभियान अघि बढेको छ ।
साथै, उक्त बैंकको सहयोगमा ११७ वटा नयाँ उद्यमहरुको स्थापना भएको छ। उक्त बैंकले १२ वटा शैक्षिक संस्थाहरुसँग सहकार्य गरी आएको छ। यस बैंकले आवासीय तालिम र मेन्टरसिप प्रदान गर्दै आएको छ। यस बैंकले ५६ वटा सामाजिक संस्थालाई उद्यमी तालिम प्रदान गरेको छ। यसरी नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्टार्टअप अभियानलाई पूर्णतः सघाइरहेको छ।
नेपाल सरकारले चालू आ.व. २०८१।८२ मा स्टार्टअप नेसन, २०३० कार्यक्रम घोषणा गरेको छ । २०८१ भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट यो अभियानको उद्घाटन भएको थियो । गरिबी घटाउन र राष्ट्रिय आत्मविश्वास बढाउन सरकारले एक हजार स्टार्टअप आरम्भ गरी एक लाखलाई रोजगारी दिने ध्येय लिएको छ। सरकारले क्रियटिभ इकोनोमी र इनोभेटिभ सोलुसनको ध्येय राखेको छ। स्वदेशमै केही गर्ने नवीनतम् र सृजनशील सोच भएकालाई सरकारले सहुलियतमा ऋण दिने अभियान अघि बढेको छ। स्टार्टअप र नवप्रवद्र्धनका लागि इकोसिस्टम विकास गर्ने, स्टार्टअप बोर्ड गठन गर्ने प्रतिबद्धतामा सरकार अडिग छ । यसका लागि सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ जारी गरेको छ। यस कामको जिम्मेवारी औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पाएको छ । उक्त प्रतिष्ठानले विशेष गरी युवा उद्यमी र डिजिटल प्रविधिबाट काम गर्ने प्रस्तावलाई उच्च महत्व दिने अपेक्षा गरिन्छ।
स्टार्टअप अभियानमा करिब ५ हजार उद्यमीले उत्पादनमूलक, सेवामूलक, औषधिजन्य, कृषि र पशुपक्षीलगायतका उद्यमका लागि प्रस्ताव गरेका छन्। यस्ता उद्यमशील प्रस्तावहरुमा साना पसल, खाजाघर, हस्तकला, एग्रो फर्म, कृषि फर्म, पशुपक्षी फर्म, पोल्ट्री व्यवसाय, मोबाइल पसल, कपडा पसल, होजियारी उद्योग, डेरी उद्योग आदि रहेका छन्। करिब ३० जिल्लाबाट यस्तो प्रस्ताव प्राप्त भएको बताइएको छ। सरकारले जारी गरेको कार्यविधिअनुसार कर्जाका लागि मुख्य ५ योग्यता तोकिएको छ। जसमा पहिलो, उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्छ । दोस्रो, सम्बन्धित निकायमा दर्ता भएको (प्रा.लि, कम्पनी, साझेदारी वा सहकारीमा दर्ता) हुनुपर्छ। तेस्रो, कुनै पनि वर्षको कारोबार रु १५ करोडभन्दा बढी नभएको हुनुपर्छ। चौथो, उद्यम व्यवसाय नटुक्रिएको वा नगाभिएको हुनुपर्छ। पाचौं, नवीन एवं सृजनशील सोचमा आधारित, रुपान्तरण गरी तीव्र विकासका सम्भावना भएको हुनुपर्छ।
यसरी सरकारी कार्यविधिअनुसार योग्यता पुगेका उद्यमीहरुले न्यूनतम रु. ५ लाखदेखि रु. २५ लाख कर्जा पाउनेछन् । यसको ब्याजदर ३ प्रतिशत तोकिएको छ । यस्तो ऋण राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध हुनेछ । तर, एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेस गर्न पाइने छैन । यस्तो कर्जाका लागि परियोजना नै धितो राख्न सकिनेछ । साथै, कर्जा प्रवाह गर्ने बैंकले ०.१ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैन । यस अभियानमा राम्रो काम गर्नेलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । यसरी नेपाल सरकारले उच्च महत्वका साथ अघि सारेको स्टार्टअप अभियानमा सहभागी हुन आम युवालाई आह्वान गर्दै युग सुहाउँदो डिजिटल प्रविधिलाई बढावा दिन पनि युवाहरुलाई सार्वजनिक आह्वान गर्दछु ।











प्रतिक्रिया