काठमाडौँ।
प्रधान सेनापति अशोक राज सिग्देलले विगत द्वन्द्व तथा कर्तव्यपालनको दौरान वीरगति प्राप्त गरेका सकलदर्जाका एकल महिलाहरूसँग आज जङ्गी अड्डामा भेटघाट गरेका छन्।
कार्यक्रममा प्रधान सेनापतिले विगत द्वन्द्वको समय लगायत विभिन्न अवस्थामा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त सकलदर्जाको योगदानलाई स्मरण गर्दै अपुरणीय क्षतिको बाबजुद शोकलाई शक्तिमा बदली एकल महिलाहरूले समाजमा विभिन्न उद्यम मार्फत आफू लगायत आफ्ना सन्ततीलाई स्थापित गराएकोमा प्रशंसा गरे ।
प्रधान सेनापतिले बीरगती प्राप्त सकलदर्जाको हक हितका लागि सदैव प्रयत्नशिल रहेको उल्लेख गर्दै नेपाली सेना सदैव साथमा रहेको समेत बताए । सो अवसरमा प्रधान सेनापतिले एकल महिलासँग अन्तर्क्रिया समेत गरेका थिए ।
सो असवरमा प्रधान सेनापतिले एकल महिला भए पश्चात पनि आफ्नो अध्ययनलाई निरन्तरता दिई उच्च शिक्षा हाँसिल गर्ने एकल महिला श्रीमती नारायणी कँडेल र आफ्नो सन्ततीलाई उच्च शिक्षा हाँसिल गर्न प्रेरणा दिई सफल अभिभावकत्व निर्वाह गर्ने श्रीमती रिता भण्डारीलाई नगद ४० हजारसहित विशेष सम्मान गरे । कार्यक्रममा प्रधान सेनापतिले उपस्थित वीरगति प्राप्त सकलदर्जाका परिवारहरूलाई नगद र दोसल्ला सहित सम्मान गरे।
प्रधान सेनापतिले पदवाहली पश्चात् सकलदर्जालाई गरेको पहिलो सम्बोधनका क्रममा वीरगति प्राप्त तथा कर्तव्यपालनको सिलसिलामा मृत्यु भएका सकल दर्जाका एकल महिलाहरू एवं पारिवारिक निवृत्तिभरणमा रहेका एक महिलाहरूलाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्तिभरणमा मासिक ५०० का दरले थप गर्ने उल्लेख गरेका थिए ।
सोही अनुरुप उक्त समूहमा रहेका एकल महिलाहरूलाई नेपाली सेनाले पारिवारिक निवृत्तिभरणको रूपमा वीरगतितर्फ मासिक ३५०० र कर्तव्य पालनातर्फ मासिक २५०० प्रदान गरिरहेकोमा यही २०८१ आश्विन महिनाबाट मासिक ५०० थप गरी वीरगतितर्फ मासिक ४००० र कर्तव्य पालनातर्फ मासिक ३००० प्रदान गर्दै आई रहेको छ ।
कार्यक्रममा बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो
प्रतिक्रिया