राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता  


काठमाडौँ। 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष  दतुक नूर याजलान बिन तान सेरी मोहम्मदबीच भेटवार्ता भएको छ। 
उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदवीच क्वालालम्पुर स्थित संसद भवनमा सोमबार दिउँसो  भेटवार्ता भएको हो । 

भेटका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल र मलेसियाका बिचमा आगामी दिनमा संसदीय सहकार्य र अनुभव आदानप्रदान बढ्दै जाने विश्वास व्यक्त गरिन् । उनले मलेसियामा रहेका नेपाली आप्रवासी कामदारहरूको समस्या समाधान गर्न मलेसियाली अधिकारीहरूले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि मलेसियाली अधिकारीहरूले नेपाली कामदारहरूको सुरक्षा र हितका लागि आफ्नो बहुमूल्य सहयोग जारी राख्नेछन भन्ने विश्वास व्यक्त गरिन्  । ‘नेपाली कामदारले दुवै देशको आर्थिक वृद्धि र विकासमा योगदान पु¥याइरहेका छन् ।’ उनले भनिन्, ‘नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगारी र स्वदेश फिर्ता सम्बन्धी समझदारी पत्र नवीकरणका लागि परिमार्जित मस्यौदा मलेसियालाई जानकारी गराइएको छ । नविकरणको प्रक्रिया छिट्टै सम्पन्न हुनेमा हामी आशावादी छौं ।’  मलेसियामा ५ लाखभन्दा बढी नेपाली कामदार रहेका छन् । 

मलेसियामा पनि गौतमबुद्धका अनुयायीहरु ठुलो संख्यामा रहेको बताउँदै उपाध्यक्ष घिमिरेले लुम्बिनी तिलौराकोट जस्ता बुद्धसंग सम्बन्धित धार्मिक स्थलमा मलेसियाबाट ठुलो संख्यामा धार्मिक पर्यटक जाने संभावना छ भनिन् । उनले क्वालालम्पुर–भैरहवा सिधा हवाई उडान हुन सकेमा मलेसियाका मात्रै नभई छिमेकी बर्मा,कम्बोडिया,थाइल्याण्ड, लाओसका बौद्धमार्गी समेत लाभान्वित हुन सक्ने भएकाले सिधा हवाई उडानका लागि पहल गर्न आग्रह पनि गरिन् । 

भेटका क्रममा मलेसियाको  उपल्लो सदन सिनेटका उपाध्यक्ष  दतुक नूर याजलान बिन तान सेरी मोहम्मदले नेपाली कामदारले मलेसियाको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै कामदारको सुरक्षा र हितका लागि मलेसिया सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दुबै देशका संसदको सहकार्य बढाउनका लागि संसदीय मैत्री समूह गठन गरेर अगाडी बढ्न सकिने धारणा राखेका थिए । 

उपाध्यक्ष घिमिरे मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि १३ संसदीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर मलेसिया गएकी हुन् । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले सोमवार मलेसियाको संसदको स्थलगत अवलोकन गरेको छ भने आइतबार क्लालालम्पुर स्थित नेपाली दूतावासमा नेपाली श्रमिकका समस्याका बारेमा छलफल तथा जानकारी लिने काम गरेको थियो ।