१५ घण्टा वित्दापनि उदयपुरको बेलका-९ मा मतगणना भएन 

7.9k
Shares

 उदयपुर। 

बदर मत गणनाका विषयमा विवाद हुँदा स्थगित भएको बेलका नगरपालिका वडानं ९ को मतगणना १५ घण्टा बित्दासम्म सुचारु हुन सकेको छैन ।  
बिहान बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएपछि गणना कार्य अनिश्चित बनेको हो ।

 औपचारिक र अनौपचारिकरुपमा सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि थप निर्णयका लागि निर्वाचन आयोगलाई पत्र पठाइएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । 
उनले भने, ‘गणनाका क्रममा देखिएका विषयवस्तु र दलहरुले उठाएका सवाललाई आयोगमा लेखि पठाएको छु, उताबाट अहिलेसम्म केहि निर्णय आएको छैन ।’ सर्वदलीय सहमति नभएपछि माथिल्लो निर्णयको प्रतीक्षा गर्नुको विकल्प नभएको उनले बताए । गुप्ताले माथिबाट जे आदेश आउँछ त्यहीँ गर्ने बताए ।

 वडानं ९ को वडाध्यक्ष पदमा आईतबार भएको निर्वाचनको मतगणना गर्दै गर्दा सोमबार राति १ बजेबाट बदर मतका विषयमा दलहरु विच विवाद हुँदा गणना रोकिएको छ । अत्यधिक मात्रामा बदर मत देखिएपछि दलहरु विवाद हुँदा मतगणना रोकिएको हो । 

गुप्ताका अनुसार ५०० मतगणना सकिएपछि सदर र बदर मतको विषयमा दलहरुले असन्तुष्टि पोखेर रोकेका हुन् । ५०० मत गणना हुँदा २२० मत बदर भएको छ । प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेको ८५, नेकपा माओवादी केन्द्रको ८० र नेपाली काँग्रेसको ६२ मत रहेको छ । सर्वदलीय बैठकमा चिन्ह भन्दा अन्य ठाउँमा सङ्केत देखिए बदर गर्ने सहमति भएको थियो । सोही मुताबिक गणना प्रक्रिया अघि बढेको गुप्ताले बताए । 

यता नेकपा माओवादी केन्द्रले भने पुनः मतगणना गर्नु पर्ने माग रोखेको छ । तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको थियो । बेलका नगरपालिका वडान. ९ मा ७ जना प्रतिस्पर्धामा छन् । 

बेलकामा नेकपा एमालेका मोहन खड्का, नेपाली काँग्रेसका नवराज बस्नेत, नेकपा माओवादी केन्द्रका भरत घिमिरेले प्रतिस्पर्धामा छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङ्गको उमेदवारी रहेको छ । 

गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीयतह निर्वाचनमा यो वडामा काँग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।