आदिवासी जनजाति महोत्सवको विषयमा राष्ट्रपति पौडेल समक्ष ब्रिफिङ


काठमाडौँ।

ललितपुरमा यही मंसिर २८ गते हुने आदिवासी जनजाति सांस्कृतिक महोत्सवका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई बिफिङ गरेको छ ।
ललितपुर महानगरपालिका– १६ का वडा कार्यालयको संयोजनमा विविध संघसंस्थाको सहकार्यमा सो महोत्सव गर्न लागिएको हो। सो महोत्सव तीन दिनसम्म चल्ने छ । पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा हुने महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथिको लागि निमन्त्रणा दिन सम्बन्धित सरोकारवालाहरु बुधवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

सो टोलीमा संयोजक वडाअध्यक्ष निर्मलरत्न शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राई, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्ष ओम धर्तीमगर, यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकार, ललितपुर उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुसन महर्जन, बाैध्द विहार संघका उपाध्यक्ष पुष्परत्न शाक्य, अक्षेयश्वर महाविहारका अध्यक्ष राजेश शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष मञ्जु बज्राचार्य, ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य बबिता श्रेष्ठ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका ललितपुर प्रदेश २ (२) काअध्यक्ष नन्दुकिशोर श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रिशा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले आदिवासी जनजातिको पहिचान, संस्कृति झल्काउने महोत्सव आयोजना गर्न लागिएकोमा खुशी व्यक्त गरे। राष्ट्रपति पौडेलले मुलुकको विविधतालाई झल्काउन तनहुँको रम्घामा निर्मित भानुभक्त उद्यानमा विभिन्न राष्ट्रभाषा (मातृभाषा) आदिकवि वा महाकविको सालिक राख्ने योजना तयार भइरहेको जानकारी दिए। उनले सो कार्यको लागि विभिन्न भाषाको आदिकवि र महाकविको सूची तयारका लागि सहयोग गर्न टोलीलाई आग्रह गरे।