एमालेले बुझेन महानगरको पत्र, फर्कियो नगर प्रहरी टोली


काठमाडौँ।

एमालेले दरबारमार्गमा जागरण सभाका क्रममा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि काठमाडौँ महानगरको टोली एमाले कार्यालयमै पुगेको छ ।

भ्यानसहित पुगेको महानगरीय प्रहरीको टोलीले आइतबार दिउँसो एमालेको च्यासलस्थित कार्यालयमा एक लाख रुपैयाँ जरिवानाबारेको पत्र बुझाउन खोजेको थियो । तर एमाले केन्द्रीय कार्यालयमा रहेका प्रतिनिधिहरूले पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा जथाभावी फोहरमैला गरेर नउठाएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो ।

फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको जरिवाना नतिरेपछि दोस्रो पत्र लिएर महानगरपालिकाका प्रतिनिधिहरू एमाले कार्यालय पुगेर फर्किएका हुन् ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।