टेनिसमा बिग थ्रीको वर्चस्व

658
Shares

विश्व टेनिसमा स्पेनका राफायल नाडाल, स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचका लागि बिग थ्रीको उपनाम दिइएको हो । नाडालले २२, फेडेररले २० र जोकोभिचले २४ ग्रान्डस्लाम एकल उपाधि जितेका छन् । उनीहरू सर्वाधिक ग्रान्डस्लाम पुरुष एकल उपाधि जित्ने सूचीमा शीर्ष तीन स्थानमा रहेका छन् ।


सन् २००३ देखि २०२३ सम्म २१ वर्षमा ८४ ग्रान्डस्लाम प्रतियोगिता आयोजना भयो । ८४ ग्रान्डस्लाममध्ये बिग थ्रीले ६६ उपाधि जिते । बाँकी १८ उपाधिमात्रै अरू खेलाडीको भागमा परेको थियो । हाल २०२४ मा भने जोकोभिचले एक पनि ग्रान्डस्लाम जित्न नसक्दा पहिलोपटक बिग थ्री असफल भयो । फेडेररले पहिले नै संन्यास लिए भने नाडालले यसै वर्ष संन्यास लिएका हुन् । अब, बिग थ्रीमा जोकोभिचमात्रै बाँकी छन् ।


बिग थ्रीबारे केही तथ्य
—फेडेररले पहिलो ग्रान्डस्लाम जित्ने क्रममा विम्बल्डन सन् २००३ मा जितेको । सन् २००४ मा अस्टे«लियन ओपन जितेपछि उनी विश्व नम्बर एक बनेका ।
—नाडालले फ्रेन्च ओपन पहिलो सहभागीमै सन् २००५ मा जिते । उनले यो उपाधि जित्न फेडेररलाई हराएका थिए । यसपछि यी दुई खेलाडी एटीपी रेन्किङमा २५ जुलाई २००५ देखि ६ सेप्टेम्बर २०१० मा शीर्ष दुईमा रहे ।
— सन् २००७ बाट जोकोभिचले फेडेरर र नाडाललाई चुनौती दिन आए । जसमा, जोकोभिच धेरै सफल भए । सन् २०११ बाट जोकोभिचले विश्व टेनिसमा वर्चस्व बनाए ।
—२००८ र २०१३ को बीचमा बिग थ्रीले नै रेन्किङमा शीर्ष तीन स्थान हासिल गरे । १८ वर्षसम्म बिग थ्रीबाटै विश्व नम्बर एक खेलाडीको रूपमा रहे ।
—जोकोभिच ४ सय २८ साता विश्व नम्बर एक खेलाडी बने । यो कीर्तिमान बनेको छ । यसपछि फेडेरर ३ सय १० साता र नाडाल २ सय ९ साता विश्व नम्बर एक खेलाडी बने । बिग थ्रीको वर्चस्वमा ब्रिटिस खेलाडी एन्डी मुरे ४१ साता शीर्ष स्थानमा रहेका थिए ।
—जोकोभिचले विश्व नम्बर एक भएर वर्ष अन्त्य गरेकोमा पनि कीर्तिमान राखेका छन् । उनी आठ वर्ष विश्व नम्बर एक भएर अन्त्य गरे । फेडेरर र नाडाल पाँच वर्ष विश्व नम्बर एक भएर अन्त्य गरे । उनीहरूको जमानामा मुरे भने एक पटकमात्रै रहे ।
—मास्टर्स प्रतियोगिता उपाधि जित्नेमा पनि बिग थ्री शीर्ष तीनमा छन् । जसमा, जोकोभिचले सर्वाधिक ४० उपाधि जितेका छन् भने नाडालले ३६ र फेडेररले २८ उपाधि जितेका छन् ।
—तर, पूरै नौवटै मास्टर्स प्रतियोगिता जित्नेमा जोकोभिचमात्रै हुन् । यसलाई करिअर गोल्डेन मास्टर्स भनिन्छ । जुन जोकोभिचले पूरा गरेर फेडेरर र नाडालभन्दा आफूलाई अब्बल ठहराए।
—ग्रान्डस्लाम एकलमा झैं हरेक वर्षको अन्त्यमा हुने एटीपी फाइनल्समा पनि जोकोभिचले सर्वाधिक उपाधि जित्न सफल भए । उनले सातपटक यो उपाधि जित्दा उनका प्रतिद्वन्द्वी फेडेररले ६ पटक जितेका छन् ।
—नाडालले भने एटीपी फाइनल्स उपाधि जित्न सकेनन् । ११ संस्करणमा भाग लिएका उनी दुईपटक (२०१० र २०१३) फाइनल पुगे तर, क्रमशः फेडेरर र जोकोभिचसँग पराजित भए ।
—ओलम्पिक्समा पनि बिग थ्रीले स्वर्ण पदक जितेका छन् । जोकोभिचले २०२४ मा पेरिस ओलम्पिक्समा स्वर्ण जितेका हुन् । यसअघि सन् २००८ मा भएको बेइजिङ ओलम्पिक्समा नाडालले स्वर्ण जितेका थिए । उनीहरूले एकल प्रतिस्पर्धामा स्वर्ण जित्दा फेडेररले डबल्समा स्वर्ण जितेका थिए ।
—नाडालले ४ ग्रान्डस्लाममध्ये फ्रेन्च ओपनमा १४ पटक उपाधि जितेका छन् । यो प्रतियोगितामा एक खेलाडीले जितेको सर्वाधिक संख्याको उपाधिसमेत हो । यसैले नाडाललाई ‘किंग अफ क्ले’ को उपनाम दिइएको हो । क्ले कोर्टमा हुने फ्रेन्च ओपनमा १९ पटक सहभागी हुँदा उनी पाँच पटकमात्रै हारे ।
— नाडाल र जोकोभिच करिअर गोल्डेन स्लाम पूरा गर्ने खेलाडी बने । यसका लागि वर्षमा हुने चारवटै ग्रान्डस्लाम र ओलम्पिकमा गोल्ड मेदल जित्नुपर्ने प्रावधान रहेको छ । २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेपछि सन् २०१० मा यूएस ओपन जितेर उनले गोल्डेन स्लाम पूरा गरे । जोकोभिचले भने यस वर्ष पेरिसमा स्वर्ण पदक जितेरमात्रै करिअर गोल्डेन स्लाम पूरा गर्नसके । फेडेररले भने यो उपलब्धि हासिल गर्न सकेनन् ।
— करिअर गोल्डेन स्लाम पूरा गर्ने खेलाडीको गणना हातको औंलामा गर्न सकिन्छ । टेनिसको इतिहासमा पाँच खेलाडीले मात्रै करिअर गोल्डेन स्लाम पूरा गरेका छन् । जसमा, नाडाल र जोकोभिच भाग्यमानी खेलाडी बने । अन्य तीन खेलाडीमा पश्चिम जर्मनीकी स्टेफी ग्राफ तथा अमेरिकाका आन्द्रे आगासी र सेरेना विलियम्स रहेका छन् ।