चितवन।
मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले निजलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानका युवतीहरुलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङ्लाई पक्राउ गरिएको हो ।
थिङले युवतीहरुको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरुलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको प्रमुख मिश्रले बताए ।मानव बेचबिखनको यो नयाँ स्वरुप भएको उनले बताए ।
थिङ्को नियत खराब भएको थाहा पाएपछि युवतीहरुले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।
उनका अनुसार थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरिएको र युवतीहरुको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको छ।
प्रतिक्रिया