ससुराली गएर सालोको श्रीमती गर्भवती बनाउने ज्वाइँ धरौटीमा छुटे, बच्चा र सुत्केरीको बिचल्ली

176.91k
Shares

काभ्रे। 

भूकम्पको समयमा भागेर प्रेम विवाह गरेकी एक महिला न्यायको याचना गरिरहेकी छिन् । न्याय दिने निकायहरु भने पुरुषलाई उन्मुक्ति दिँदै अर्को मुद्दा दर्ता गर्न सुझाव दिन थालेका छन् । 

‘उहाँ महिला गर्भवती हुनुहुन्थ्यो । उहाँलाई नै ल्याएर बयान लिन सम्भव भएन । तर पनि म आफैले उहाँले न्याय पाउनु पर्ने पक्षमा बहस गरें’– जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले भनिन–‘महिलालाई गर्भवती बनाउने पुरुषलाई धरौटीमा छाडेको सुनेँ । आदेशको पूर्ण पाठ पछि थप निर्णय गर्नेछु ।’ पीडित महिला, क्षतिपूर्ति र जन्मेको बच्चाका पक्षमा कुनै कुरा आदेशमा नआएकाले न्याय नपाएको पीडितका आफन्तले बताएका छन् । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले पछि बुझ्दै जाँदा हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८, ७२ बमोजिम जर्वजस्ति करणी अभियोगमा पक्राउ परेका पुरुषलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश कार्तिक २७ गते मंगलबार गरेको श्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।

आदेशको पर्चा बोक्दै पीडित महिला, महिलाका आफन्तहरु सरकारी निकाय धाईरहेका छन् । ‘बच्चा कसको हो ? न्वारन कसले गर्ने ? छोरी र बच्चालाई कसले रेखदेख गर्छ, जसले गर्भ बोकायो उ धरौटीमा छुटेपछि ज्यानको समेत खतरा भएको छ’–पीडितका बाबुले भने–‘पहिले छोरीले भागेर विवाह गरिन् । ज्वाइँ विदेशमा भएका बेला भिनाजुले उनलाई जर्बजस्ति करणी गरेको कसैलाई भन्न सकिनन । उसले कसैलाई भने दुई बच्चा र उनैलाई समेत मारि दिने धम्की दिएको रहेछ । बच्चा जन्मने बेला मात्रै उक्त घटनाका बारेमा सार्वजनिक हुन सक्यो । न्यायका लागि छोरीका श्रीमानले प्रहरीकोमा जाहेरी दिए । तर पनि ज्वाइँका भिनाजुलाई कारबाही भएन ।’ छोरीका दुई सन्तान यस अघि नै थिए । जर्बजस्ती करणीबाट १३ दिन अघि साढे ३ केजीको छोरा जन्मिएको छ । 

२०८० फागुन ११ गते राति ११ बजेको समयमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्वर १ घर भई काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ मा ससुराली भएका ३६ वर्षीय विमल तामाङले आफ्नै सालोको २५ बर्षिया श्रीमतिलाई जर्बजस्तिकरणी गरेका थिए । नाताले भिनाजुले गरेको करणीका बारेमा महिलाले कसैलाई भन्न सकिनन् । उनी दुई सन्तानसँग बसेकाले सासू ससुरासँग अलग्गै थिइन् । रातको समयमा ढोका खोल भन्दै आए पछि महिलाले आफ्नै भिनाजु सम्झेर ढोका खोलिदिईन् । तर उनले त्यहि मौका पारी जर्बजस्ति करणी गरे । कसैलाई भने देखि अर्को पटक आएर बच्चा र आमा दुबैलाई सिध्याउने धम्की दिए । डरै डरका कारण महिलाले कसैलाई भनिनन् । पेटमा बच्चा हुर्कँदै गयो । गाउँभरी कसको गर्भ बोकेको भन्दै उनको आलोचना हुन थाल्यो । तत्कालै बनेपामा उनको परीक्षण भयो । ३३ हप्ता ४ दिनको बच्चा रहेको जानकारी पछि महिलालाई धुलिखेल अस्पतालमा भर्ना गरियो । ७ दिन पछि डिस्चार्ज गरेर माइती घर लगियो । २०८१ कार्तिक १७ गते तिहारको दिन माइती घरमा नै उनी सुत्केरी भइन् । सालनाल सहित उनलाई अस्पताल ल्याइयो । केहि दिन पछि पुनः फर्काईयो । ३.५ केजीको छोरा जन्मियो । उनको न्वारन, रेखदेख, पालनपोषणको टुङ्गो नहुँदै श्रीमानले पहिलाका दुई सन्तान आफै हेर्छु बाँकी जे गर्नु पर्छ गर भन्दै हिडे । पीडित महिलाको चिन्ता जर्बजस्तिकरणीबाट जन्मिएका बाबुका बारेमा आफू स्पष्ट भए पनि न्यायलयबाट पाउनु पर्ने न्याय तत्काल नपाएको महसुस भएको बताइन् । ‘कहाँ जाऊँ, के गरौ, बच्चालाई कसले हेर्छ ?’–पीडितले भनिन ।

विमल तामाङले आफू सालोको श्रीमतीको कटेजमा गएर सुतेको स्विकारेका छन् । छ्याङ्ग खाएर गएका उनले जर्बजस्ति करणी गरेका हुन् । श्रेस्तेदार कर्णबहादुर राईले अदालतमा दर्ता भएको अभियोग जर्बजस्ती करणी विरुद्ध मात्रै भएकाले अन्य विषयमा नबोलेको हुन सक्ने बताए । ‘इजलासले गरेको आदेशमा हाम्रो कुनै धारणा हुँदैन, पीडितका आफन्त अदालतमा आउनु भयो । मैले उहाँहरूलाई कानुनी प्रक्रियाका बारेमा जानकारी गराएको छु’– श्रेस्तेदार कर्ण राईले भने–‘मुद्दा फैसला भएको होइन । पुर्पक्ष राखेर अनुसन्धान गर्ने कि धरौटीमा भन्ने विषयमा एउटा आदेश भएको हो ।’ पीडितहरुले आदेश आए लगत्तै विमल छुटेर फेरी धम्की दिन थालेको भन्दै न्याय र सुरक्षाको माग गर्दै अदालत, प्रहरी र सरकारी वकिलको कार्यालय गएको बताए । ‘कतैबाट पनि न्यायको अपेक्षा गरिएन, प्रहरीले सरकारी वकिलको कार्यालय देखाउने, सरकारी वकिलको कार्यालयले अदालत देखाउने, अदालतले माथिल्लो अदालत देखाउने, अनि पीडितले न्याय कहाँबाट पाउने ?’– पीडितका बाबुले भने–‘१३ दिने सुत्केरी छोरी र बच्चा बोकेर न्यायका लागि कहाँ जाऊँ ? अपराधीलाई कसरी कारबाही हुन्छ ?’ 
पक्राउ परेका विमलले प्रहरी हिरासतबाट महिलाका आफन्तलाई २ लाख रुपैयाँ दिन्छु मुद्दा मिलापत्रमा टुङ्गयाउन अनुरोध गरेका थिए । ‘हामीलाई पैसा भन्दा पनि अपराध गर्ने व्यक्तिलाई कारबाही होस भनेर मिलापत्र गर्न मानेनौँ तर अदालतले छोरीको पीडा र अपराधलाई चिन्न नसकेको महसुस भएको छ ।’ जिल्ला अदालत काभ्रेपलान्चोकका न्यायाधीश आचार्यको इजलासले यस अघि खानीखोलाको जर्बजस्तिकरणी घटनामा संलग्न अभियुक्तलाई पनि १ लाख धरौटीमा छाड्ने आदेश दिएका थिए । पछिल्लो समय जिल्ला अदालतले पुर्पक्षमा राखेर अनुसन्धान गर्नु पर्ने प्रकृतिका घटनाहरुमा पनि धरौटी आदेश गर्ने गरेको छ ।