बुटवल।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही ल्याइएको छ । पोखराको सुदर्शन सहकारीको बचत अपचलन आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धान गर्न रुपन्देही ल्याइएको हो ।
बुद्ध एअरबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा पुर्याइएको छ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रुपन्देही प्रहरीले कात्तिक ८ गते जिल्ला अदालतबाट लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरी कास्की पठाइसकिएको छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ ।
२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
सहकारी ठगी आरोप लागेका लामिछाने पोखराबाट भैरहवा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र सुप्रिम सहकारीका पीडितले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।
रास्वपाले बिहान ११ बजे बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर नारायणपथ, देवकोटाचोक हुँदै जिल्ला प्रहरी कार्यालय नजिक पुगेर सभा गर्ने तयारी गरिएको छ ।
रास्वपाले गर्ने प्रदर्शन, नाराबाजीलाई शान्तिपूर्ण र मर्यादित बनाउन आचारसंहिता लागू गरी नेता कार्यकर्तालाई अग्रिम जानकारी गरिएको छ । उता सहकारी पीडितले जिल्ला सरकारी वकिलको कार्यालय अगाडि जम्मा भएर प्रदर्शन गदैछन् ।
आफ्नो बचत फिर्ता पाउनुपर्ने, सहकारी ठगीमा संलग्न जोसुकैले सजाय पाउनुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागेको सहकारी पीडित संघर्ष समितिकी चिना थापाले बताइन् ।











प्रतिक्रिया