हेटौंडा ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले प्रदेशका जिल्लाहरुमा पनि संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ ।
प्रदेशस्तरीय दुई दलीय संयन्त्रको ललितपुरमा बसेको पहिलो बैठकले यस्तो निर्देशन दिएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशका तेह्र वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको संयन्त्र सचिव राजु नेपालले जानकारी दिए ।
बैठकले दुई दलले एक-एक महिना पालैपालो बैठक संयोजन गर्ने र मंसिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एक-एक जना रहने, संयन्त्र बैठक महिनामा कम्तिमा एकपटक अनिवार्य बस्ने र आवश्यकताअनुसार थप बस्न सक्ने, दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीहरुको संयुक्त बैठक मंसिर ३ गते हेटौंडामा बसेर प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमबारे जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति, कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामातामाङ, कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, नेकपा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाश ढुंगेलको सहभागिता थियो ।
प्रतिक्रिया