रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद, सशस्त्र प्रहरी र राजश्व टोलीमाथि ढुंगामुढा, दुई घाइते 


काठमाडौँ। 

 रुपन्देही जिल्लाको लुम्बिनी  सांस्कृतिक नगरपालिका–२ मुझानाबाट बिहिबा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भिडले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।  

उक्त भिडले ढुंगामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुकोसाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।