तराई मधेशमा छठको रौनक, दुलही झैं सिघारिए छटियाघाट 

4.98k
Shares

वीरगन्ज। 

आस्था र भक्तिको पर्व छठको रौनक तराई मधेशमा देखिएको छ । छठको रौनक मधेश प्रदेशको वीरगन्ज सहितका जिल्लाहरुमा दुई दिन अगाडिबाट नै शुरु भएको हो । वीरगन्जको घडीअर्वा पोखरीलाई दुलही झैं सिंघारिएको छ । यो परिसरमा रहेको पोखरीमा हरेक बर्ष लाखौं भक्तजनहरुले छठ पूरा गर्ने गर्दछन्  ।

 तराई मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । वीरगन्जमा बसोबास गर्ने मधेसीसहित पहाडी समुदायका श्रद्धालु पनि छठपर्वको दिन बकैया तटमा पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्नेमा कयौं व्रतालुहरु पहाडीया समुदायका पनि छन् । 

वीरगन्जको छपकैंया क्षेत्रका केही मुस्लिम समुदायले समेत छठ मनाउने गर्दछन् । छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय दुवै समुदायले भक्तिभावले मनाउने गरेको संस्कृति बिद्हरुको भनाइ छ । वीरगन्ज सहित यस आसपासका क्षेत्रहरु  बाराको जीतपुरमा छठ पर्वको रौनक बढेको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारमा छठ पर्वको रौनक बढेको हो ।

 बारा जिल्लाकै मुख्य व्यापारीको रूपमा रहेको जीतपुर बजारमा किनमेल गर्नेको भिडले छठ पर्वको चहलपहल बढेको हो । सस्तो बजार भएकोले छठ पर्वको किनमेलको लागि जीतपुर आएको हेटौडाका सरोज कार्कीले बताए । स्थानीय व्यापारी राजकुमार शाहले छठ पर्वसंगै बजार चलायमान भएको बताए । केही समयअगाडिसम्म ठप्प रहेको व्यापार अहिले ह्वात्तै बढेको उनको भनाई छ । अहिले जीतपुर बजारमा छठ पर्वको सामग्रीहरु कपडा, जुत्ता, छरछैटी, आदुवा खरिद गर्न किराना र कपडा पसलहरुमा सर्वसाधारणको ठूलो भिड लागेको स्थानीय युवा नेता शक्ति गुप्ताले बताए । 

यसैबीच सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व मंगलवारदेखि विधिवत् सुरु भएको हो । छठ पर्वको पहिलो दिन मंगलवार नहाय खाय मनाएका छन । ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।पारिवारिक सुख–समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधवार खरना परेको छ । बुधवार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गरेका छन् । 

तेस्रो दिन बिहीवार छठको मुख्य दिन रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ ।अन्तिम दिन शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ । 

छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ । तराई–मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।