अवैध भरुवा बन्दुक उत्पादन गर्ने ३ जना प्रहरीको नियन्त्रणमा 

   जोखिमको गम्भीरता हेरी १० वर्ष कैद एकलाख रुपियाँ जरिवाना हुनसक्ने 

17.01k
Shares

        बाजुरा। 

  जिल्लको गौमुल गाउँपालिका वडा नं ६ सटेडामा घरेलु बन्दुक निर्माण गर्ने स्थानीयको घरमा प्रहरीले  मंगलवार दिउँसो छापा हानेको छ । प्रहरीले छापा हान्दा १० थान भरुवा बन्दुकसहित ठूलो परिमाणमा बन्दुक निर्माण सामग्री फेला परेको जिल्ला प्रहरीकार्यालय बाजुराले जनाएको छ । 

     जिल्ला प्रहरी कार्यालय बाजुराद्वारा  बुधवार  प्रकाशित  प्रेसविज्ञप्ति अनुसार इलाका.प्रहरी.कार्यालय गौमुल बाजुराबाट प्रहरी नायब.निरिक्षक कमल सिंह भण्डारीको कमाण्डमा खटिएको टोलीले आफ्नै घर भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । 

मंगलबार गौमुल गाउँपालिका वडानं ६ सटेडाका स्थानीय ६३ वर्षीय गोरे लुहारको घरबाट भरुवा बन्दुक १० थान, भरुवा बन्दुक निर्माण गर्न आवश्यक पर्ने ३३ नाल, बन्दुकमा प्रयोग हुने छर्रा ३० थान, बारुद एक सय ५९ ग्राम, केप २५ थान, केप बनाउने प्रयोग हुने तामाको पाता,लगायत सामग्री बरामद गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विशेष सूचनाका आधारमा इप्रका गौमुलबाट प्रहरी नायव निरीक्षक भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लुहारसहित बडिमालिका नगरपालिका–१ सलेनाका गोरख कार्की र बुद्ध कार्कीलाई समेत पक्राउ गरेको  विज्ञप्ति मार्फत जानकारी गराएको छ । घटनाको थप अनुसन्धान हुने र हातहतियार तथा खरखजानासम्बन्धी कानुनअनुसार कारबाही हुने प्रहरीले बताएको छ  ।

        “ मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२९ मा हात हतियार खरखजनाको जोखिमको गम्भीरता हेरी उत्पादन गर्नेलाई दश वर्षसम्म कैद र एकलाख रुपैंया सम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।” जिल्ला सरकारी वकिल कार्यालय बाजुराका प्रमुख लोकबहादुर रावलले भने ।
 
  विशेषगरी बाजुरामा बन्यजन्तुको चोरीसिकार गर्ने प्रयोजनका लागि  भरुवा हाते बन्दुकको प्रयोग गरिनेहुंदा  अबैधरुमा बन्दुक  उत्पादन तथा निर्माण गर्न सक्छन् । यद्यपि जिल्लाका हरेक गाउँबस्तीमा प्रहरीका गुप्तचर (सुराकी) हुने हुँदा  जोकोहीले पनि गलत धन्दामा नलाग्न सुझाव स्थानीय जानकारको छ ।