क्यानडामा आयोजित अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालको सक्रिय सहभागिता


काठमाडौं। 

क्यानाडाको मन्ट्रियलस्थित प्यालेस दि कंग्रेसमा हालै सम्पन्न तीन दिने ३४ औं अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालले आफ्नो प्राकृतिक सौन्दर्यताले भरिएको पर्यटकीय गन्तव्यका साथै सांस्कृतिक विविधताबारे जानकारी दिंदै सक्रिय सहभागिता जनाएको छ ।

एक्स्पो मिडिया इन्कले आयोजना गरेको उक्त प्रदर्शनीमा विश्वका सयभन्दा बढी देशका पर्यटन प्रवर्धक संस्था, एयरलाइन्स कम्पनी, टुर अपरेटर र पर्यटन उद्योगसँग सम्बन्धित संस्थाहरुका साथै क्यानाडाका लागि नेपाली दूतावास र नेपाली टुर अपरेटर कम्पनीहरुले सहभागिता जनाएको थियो ।

पहिलो दिनमै पाँच हजारभन्दा बढीले अवलोकन गरेको उक्त प्रदर्शनीमा नेपाली दूताबासले पर्यटन प्रर्वद्धनसम्बद्ध सामग्रीहरुको प्रदर्शन र वितरण गर्नुका साथै नेपाली हस्तकला, चिया, कफी, पश्मिना र नेपालको सांस्कृतिक तथा कलात्मक विविधता झल्काउने वस्तुहरु राखिएका थिए । साथै दूताबासले प्रदर्शनी अवधिभरी नै पर्यटनसँग सम्बन्धित मुद्रित तथा दृश्यात्मक सामग्रीहरुका साथै वृत्तचित्र प्रदर्शन गरेको थियो ।

दूताबासका अनुसार नेपाली स्टलमा धेरै आगन्तुकहरुले पर्यटकिय आकर्षणहरुका बारेमा चासो देखाएका थिए । उनीहरुले नेपाल भ्रमणको मौसम, तापक्रम, यातायातको सुविधा र सबै उमेर समूहका पर्यटकहरुको रुचि अनुसार नेपालले दिने अनुभवबारे जिज्ञासा राखेका थिए ।

पछिल्लो चार वर्षदेखि अर्थात् सन् २०१८ देखि लगातार चौथौं पटक यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाउँदै आएको एभरेस्ट पायोनियर ट्रेकका संचालक सहदेव श्रेष्ठले यो प्रदर्शनीले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने–“ प्रदर्शनीमा नेपालको पर्यटनलाई उजागर गर्ने प्लायरहरु वितरण गर्ने क्रममा धेरै अवलोकनकर्ताहरुले नेपाल आउने रुची देखाएका छन् । उनीहरुले आगामी २०२५–२०२६ मा आफ्नो भ्रमणको गन्तव्य नेपाल बनाउने बताएका छन् ।”

क्यानाडाको मन्ट्रियलमा प्रत्येक वर्ष आयोजना हुने यो अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी क्यानाडाको सबैभन्दा ठूलो पर्यटन प्रवद्र्धन कार्यक्रममध्यको एक हो । विश्वभरिका सयभन्दा बढी देशका पर्यटनसँग सम्बन्धित संस्था तथा कम्पनीहरुको सहभागिता रहेको यस प्रदर्शनीमा विश्वव्यापी खानपिनको अनुभव, पर्यटकीय गन्तव्यहरुबारे सेमिनार, बिजनेस टु बिजनेस सेमिनारका साथै विभिन्न सांस्कृतिक समूहहरुको प्रदर्शनीको आयोजना गरिएको थियो ।