यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी टीका लगाइदिन्छन्।
भाइटीकाको दिन लगाइने सप्तरङ्गी टीकाले दाजुभाइप्रतिको प्रेम ७ वटा रंगजस्तै गाढा भइरहने भन्ने विश्वास गरिन्छ। धर्मशास्त्रविद्हरु सप्तरङ्गी टीका ७ वटा ग्रहसँग सम्बन्धित रहेको बताउँछन्।
ज्योतिषशास्त्र अनुसार ९ वटा ग्रहको महत्त्व हुन्छ। राहु र केतु पनि ग्रह हुन्, तर यी दुई ग्रहले राम्रो फल नदिने हुनाले ७ वटा ग्रहलाई मुख्य मानिन्छ। सप्तरङ्गी टीका पनि तिनै ७ वटा ग्रहसँग सम्बन्धित छन्।
धर्मशास्त्रविद्हरुका अनुसार सूर्यले रातो, चन्द्रमा र शुक्रले सेतो, मंगलले कलेजी, वृहस्पतिले पहेँलो, शनिले निलो तथा बुधले हरियो रंग जनाउँदछन् ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको बताउँछन्।
भाइटीकाको दिन टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
प्रतिक्रिया