जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन


जुम्ला ।

यो वर्ष जिल्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ। कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांकनुसार चार हजार २५० हेक्टरमा लगाइएको स्याउ खेतीबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ।

यहाँका आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए।

जसमध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ। ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले भने, “बसबाट एक हजार ६६० मेट्रिक टन, जिप र हाइसबाट ६६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ।”

मालवाहक ट्रकबाट ६ हजार ९९३ मेट्रिक टन स्याउ निर्यात भएको छ। ८३७ स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन्। जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ।