सरकार छिटोछिटो परिवर्तन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भयो– उपाध्यक्ष घिमिरे 


नवलपरासी। 

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिवर्तन हुँदा कानुन निर्माणको काम पनि प्रभावित भएको बताएकी छन् । 

सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिवर्तन छिटोछिटो हुँदा विधेयक अघि बढाउनै नसकिएको बताइन्  ।

‘व्यवस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानुन बनाउनका लागि विधेयक अघि बढाउन सरकारलाई आग्रह गर्छौ’, उनले भनिन्  ‘छिटोछिटो सरकार संगै मन्त्री परिवर्तन हुँदा विधेयक नै अघि बढ्न सकिरहेका छैनन्, जसले गर्दा अत्यावश्यक कानुन निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ ।’

संविधान अनुसार बाझिएका कानूनहरु निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटक पटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै विधेयक पास हुने बिश्वास व्यक्त गरिन । समितिमा अड्किएका बिद्येयकहरुलाई छिटो टुंगोमा पुर्‍याउनका लागि केही दिन पहिले राष्ट्रिय सभाका अध्यक्ष र आफूले सम्बन्धित समितिका सभापतिहरु संग छलफल गरेको बताउँदै प्रतिनिधीसभाको तुलनामा राष्ट्रिय सभामा आएका विधेयकहरू छिटो टुंगोमा पुग्दै आएका छन् भने । 

उनले मुलुकमा केही समयदेखि बढी रहेको अराजकता प्रति चिन्ता व्यक्त गर्दै अराजकता सृजना गर्ने जो भए पनि काबार्हीको दायरामा ल्याउन आवश्यक छ भनिन् । तीनै तहका सरकारले आफूलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्छ भने । जनतामा बढी अपेक्षा हुने र सरकारले त्यस अनुरुप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकतावादीले भड्काउने प्रयास गर्न सक्ने तर्फ सचेत हुन आग्रह पनि गरिन् ।

उनले सहकारीमा बचतकर्ताको रकम डुब्ने र ऋणीले फिर्ता नगरेपनि हुन्छ भन्ने अवस्थाको अन्त्य गर्दा धेरै बचतकर्तालाई राहत हुन सक्छ भनिन । बचतकर्ताले बचत डुब्ने डरमा नियमित बचत छाड्ने र ऋण असुली नहुने समस्याको हल खोज्न सरकारले पहल गरिरहेको बताउँदै त्यसलाई छिट्टै परिणाममुखी बनाउन आग्रह पनि गरिन् । 

उपाध्यक्ष घिमिरे सुनवल नगरपालिकाको सहयोगमा बाल नगर सञ्जालले आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भइन्  भने नवलपरासी बर्दघाट सुस्तार्पुवमा पर्ने विनयत्रिबेणी गाउँपालिका स्थित प्रसिद्ध त्रिवेणी धाम र सुस्ता जोड्ने झोलुंगे पुलको अवलोकन गरिन् । सो अवसरमा स्थानीयवासी र जनप्रतिनिधिले निर्माणाधीन नारायणगढ बुटवल सडकको काम छिटो सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएका थिए ।