राजनीतिक स्थिरता कायम गर्न कांग्रेस-एमालेको सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह


चितवन ।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्।

कांग्रेस चितवनले सोमबार बिहान आयोजना गरेको दिपावली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए। सरकार लामो समयसम्म टिकाउन पनि वर्तमान सत्ता समीकरण बनेको उनको भनाइ थियो।

‘विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ,’ उनले भने । फरक प्रसंगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्त्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,’ उपप्रधानमन्त्री सिंहले भने।

कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनको भनाइ छ।