संघीयतामा भ्रष्टाचारको जालो फैलनु दुःखद


संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा भ्रष्टाचारको जालो तीनवटै सरकारमा फैलने क्रम दिनानुदिन वृद्धि भइरहेको छ । नेपाली जनताको त्याग र बलिदानबाट संसारमा नै सबैभन्दा उन्नत मानिएको यो शासन व्यवस्था स्थापना भएको हो ।

२०७२ सालमा यो शासन व्यवस्था स्थापना भएसँगै आम जनता खुशीले निकै गद्गद् थिए। अब साँच्चै नै मुलुकमा सुशासन, विकास र समृद्धि आउँछ भन्ने विश्वासले जनता औधी खुशी भएका थिए तर शासन व्यवस्था स्थापना भएको १० वर्ष पनि नपुग्दै आम जनतामा एक किसिमको निराशा र आक्रोश पैदा हुन थालेको छ । यसका कारण शासकीय व्यवस्थामाथि नै गम्भीर प्रश्नहरु सिर्जना हुन पुगेका छन्, जुन निकै दुःखद हो ।

२०७२ सालमा नयाँ संविधान जारी भएसँगै संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकारको व्यवस्था गरिएको थियो । अब यी तीनवटै सरकार मिलेर आम जनतालाई प्रभावकारी सेवा दिने, मुलु्कमा सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने विश्वास गरिएको थियो । तर आम जनताको सो विश्वास विपरीत तीनवटै सरकारमा भ्रष्टाचारको जालो फैलिरहेको छ।

व्याप्त भ्रष्टाचारले जनतामा निराशाको ग्राफ बढ्न पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा गरी २०१ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो अवधिमा तीनवटै सरकारमा गरी भ्रष्टाचारका २५ हजार बढी उजुरीसमेत परेका छन्।

भ्रष्टाचारमा दायर गरिएका मुद्दामध्ये सबैभन्दा बढी स्थानीय तहविरुद्धका १०२ रहेका छन् । यसै गरी संघीय सरकारविरुद्ध ७९ वटा भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने प्रदेश सरकारविरुद्ध २० वटा भ्रष्टाचार मुद्दा दायर भएका छन्। यसअघि केन्द्र र स्थानीय तह रहे पनि संघीय शासन आएपछि थपिएको प्रदेश सरकारमा पनि भ्रष्टाचार हुने क्रम बर्सेनि बढ्दो छ।

केन्द्र र स्थानीयको भ्रष्टाचार गर्ने रोग प्रदेशमा फैलनु आफैँमा दुर्भाग्यपूर्ण छ। देशमा केन्द्रीकृत शासन प्रणाली हुँदा पनि भ्रष्टाचार र कुशासन नभएको भने होइन। २०७२ सालमा संघीय शासन प्रणाली आउनुअघि पनि भ्रष्टाचार र कुशासन अत्यधिक थियो। त्यही भएर नै सुशासन र विकासको लागि भन्दै जनताकै आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो। हाम्रो राजनीतिक नेतृत्वले उन्नत शासन व्यवस्था त स्थापना गरे तर सोही अनुसार आफ्नो प्रवृत्तिलाई परिवर्तन गर्न सकेनन् । मुलुकलाई सुशासन दिँदै विकास र समृद्धिमा अगाडि बढाउन सकेनन् । त्यसैले आज उनीहरुले जतिसुकै राम्रो काम गरे पनि जनताले विश्वास गर्न छोडेका छन्।

राजनीतिक नेतृत्वको शासकीय असफलताका कारण जनता वाक्कदिक्क हुँदै आएका छन्। यसका कारण हालका प्रमुख राजनीतिक दलको विकल्पका रुपमा आएका वा आउने जोसुकै व्यक्ति र शक्तिप्रति पनि जनताको भरोसा जाग्न पुगेको देखिन्छ। यस्तो अवस्था आउनुमा प्रमुख राजनीतिक दल र तिनकै नेतृत्वको प्रमुख भूमिका रहेको यथार्थतालाई बिर्सन मिल्दैन। अझै पनि समय छ, संघीय शासन प्रणालीमा मौलाइरहेको भ्रष्टाचारको जालो अब तीनवटै सरकार र प्रमुख राजनीतिक नेतृत्व मिलेर छिटोभन्दा छिटो च्यात्नुपर्छ । सम्भावित दुर्घटनाबाट जोगिन पनि अब तीनवटै सरकारले सुशासन कायम गर्दै संघीय शासन प्रणालीको संस्थागत विकासमा ध्यान दिनुको विकल्प छैन ।