गाँजा तस्करीमा तेल ट्यांकरको प्रयोग, दुईजना पक्राउ

12.88k
Shares

हेटौंडा ।

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरभित्र लुकाइराखिएको गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट मंगलबार विहान गाँजासहित ट्यांकरलाई नियन्त्रणमा लिएको हो ।

उत्तरी मकवानपुरको पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ७ ख १७७१ नम्बर ट्यांकर चेक गर्ने क्रममा ३ सय ९२ केजी लागुऔषध गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ट्यांकरचालक मकवानपुरको मनहरी गाउँपालिका वडा–९, ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धनबहादुर मल्ललाई पक्राउ गरेको छ ।

ट्यांकरका ५ डिब्बामध्ये ३ नम्बर डिब्बाभित्र २५ वटा पोका बनाइ प्लाष्टिकले बेरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले बताएको छ ।