बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या सय पुग्यो, ६७ जना अझै बेपत्ता


काठमाडौं ।

बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एकजना घाइते भएका छन्।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा छ जना, सोलुखुम्बुमा पाँच, पाँचथरमा पाँच, भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटामा दुई, महोत्तरीमा दुई, रामेछापमा एक, झापामा एक, उदयपुरमा एक, इलाममा एक, सप्तरीमा एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।