प्रतिकूल मौसमले हवाई उडान प्रभावित, २ विमान ‘डाइभर्ट’


काठमाडौं ।

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहेको छ। तर, विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ। विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्।

काठमाडौंबाट सिमराका निम्ति उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौं फकिर्एको छ। सोही एयरलाइन्सको काठमाडौंबाट विराटनगर उडेको अर्को विमान प्रतिकूल मौसमका कारण बीचबाटोबाटै काठमाडौं फर्किएको छ।

आजका निम्ति कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन्। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।