मुलुकमा विभिन्न समयमा भएको राजनीतिक परिवर्तनमा जनताको योगदान ठूलो रहेको छ । गरिब जनताले आफ्नो ज्यानको पर्वाह नगरी मुलुकको समृद्धिका लागि लडे । त्यति बेला राजनीतिक दलहरुले जनतामा एउटा आशा देखाएका थिए, ‘हामी समृद्ध नेपाल बनाउँछौं । देश गरिबमुक्त बनाउँछौं ।’
विडम्बना, राणाशासन र राजतन्त्र पतनको यत्रो वर्ष बितिसक्दासमेत न देश समृद्ध भएको छ, न गरिबमुक्त। राजतन्त्रको अन्त्यका लागि जनताले आफ्नो ज्यान गुमाउनुपर्यो । आफ्ना छोराछोरी गुमाउनुपर्यो । तर, उनीहरुले के पाए ? यही भ्रष्टाचारमा जडिएको देश ? नेताहरुले सिध्याएको नेपाल
मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन त भयो तर सर्वसाधारणको जीवनमा कहिल्यै परिवर्तन आएन । किनकि राजनीतिक परिवर्तनले जनतालाई होइन, नेतालाई मात्र मोजमस्ती र सुख दिलायो । अहिले नेताहरु जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् । दुर्भाग्यपूर्ण त्यही कर तिर्ने जनता भने कहिले खान नपाएर न कहिले उपचार नपाएर आत्महत्या गर्नुपरिरहेको छ।
तीन दशकअघि गरिबलाई धनी बनाउने भन्दै गाउँदेखि शहरसम्म बैंक तथा वित्तीय संस्था खोलिए । बैंक, सहकारी, लघुवित्त, फाइनान्सहरु च्याउ उम्रिएझैं पलाए। सीधासाधी जनताले आफूसँग भएको घरजग्गा धितो राखेर बैंक, वित्तीय संस्थाबाट कर्जा लिए। अधिकांशले व्यक्तिबाट पनि ऋण लिएका छन्। बैंक, वित्तीय संस्थाहरुले ‘हामी सस्तो ऋणमा कर्जा दिन्छौं’ भन्दै सर्वसाधारण फसाए।
शुरुमा कर्जाको मासिक ब्याजदर आठ प्रतिशत भन्ने अनि असुल्ने बेला ८० प्रतिशतसम्म । त्यो पनि ऋणीलाई थाहै नदिई । यता, सेवाशुल्क एक प्रतिशत भनेर तीन प्रतिशतसम्म लिने । करोड मूल्य बराबरको धितो राखेर ३० लाख कर्जा प्रवाह गर्ने, त्यसमा पनि पाँच लाख त घूस नै खाने । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै २५ लाखमा करोडको धितो पचाइदिने।
ऋणीले जतिसुकै किस्ता तिरे पनि सावाँ नघट्ने । किनकि अधिकांश बैंक, वित्तीय संस्थाका कर्मचारीहरुले त्यस्तो रकम पेनाल्टी, ब्याज वा बचत खातामा जम्मा गरिदिन्छन् । बचत खातामा गरिदिएपछि ऋणीले झन् बढी रकम तिर्नुपर्ने हुन्छ । ऊसँग हर्जाना, पेनाल्टी र बढी रकम असुल्न पाइन्छ । कतिपय बैंक, वित्तीय संस्थामा त ऋणीलाई नसोधी उसको कर्जाको बिमा गराइन्छ ।
अनि नवीकरण गर्ने भन्दै ऊसँग झन् बढी रकम असुलिन्छ । बैंक, वित्तीय संस्थाबाट ऋणी मात्र होइन, निक्षेपकर्ता पनि पीडित भएका छन् । यिनीहरुले ऋणीको उठीबास लगाए नै, सँगै बचतकर्तालाई पनि बिचल्लीमा पारेका छन् । पछिल्लो समय बैंक खाताबाटै बचतकर्ताको रकम गायब भएको घटना बाहिरिएका छन् ।
कर्मचारीहरुकै मिलेमतोमा खाताबाट ग्राहकको रकम चोरिएको तथ्य पनि भेटिएका छन् । यसले बैंकप्रति सर्वसाधारणको विश्वास मात्र गुमेको छैन, जनताको रुवाबासी पनि चलेको छ। जीवनभर मेहनत गरेर कमाएर विश्वास गरी बैंकमा राखेको पैसा बैंककै कर्मचारीले चोरी गर्दा आम नागरिक पीडित भएका छन्। पैसा हराउँदा कतिपय बचतकर्ता डिप्रेसनमा गएका छन् । अहिले बैंक, वित्तीय संस्थाप्रति गुनासो गर्ने बढ्दो छन् । जो कोही आफू ठगिएको बताउँछन् । २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो। ०५७–५८ सालमा बैंक, वित्तीय संस्था ठग, चोर हुन् भनेर माओवादीले गाउँ–गाउँबाट लखेट्यो ।
०६२–०६३ मा जनआन्दोलन भयो । माओवादी शान्ति वार्तामा आयो। ०६४ चैत २८ गते संविधानको पहिलो निर्वाचन भयो । माओवादीले एक सय २१ क्षेत्रमा चुनाव जित्यो । र, थोरै क्षेत्रमा थोरै भोटले मात्र हार्यो । माओवादी शान्ति वार्तामा आएसँगै बैंक, वित्तीय संस्थाको ठगीधन्दा पुनः शुरु भयो । उनीहरु जनता ठग्न फेरि गाउँ छिरे।
गरिबको जीवनस्तर सुधार्छौं वा धनी बनाउँछौं भन्दै उनीहरु गाउँ छिरेका थिए। अहिले करोडौं सर्वसाधारणको झन्डै ४० खर्ब रकम ३५ हजार बढी सहकारीले खाइदिएका छन्। लाखौं जनता लघुवित्त र मिटर ब्याजका कारण पीडित भएका छन्। उनीहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्।
०५० सालअघि काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन मात्र थियो । घर निकै कम हुन्थ्यो । घर भए पनि कच्ची माटोको हुन्थ्यो। अर्कोतर्फ, त्यति बेला जग्गाको किनबेच पनि थिएन। सो समयमा अहिलेजस्तो जग्गा आनामा हुँदैनथ्यो । रोपनीका रोपनी हुन्थ्यो। एउटै व्यक्तिको कैयौं रोपनी जग्गा थियो। त्यसमा खेतीपाटी गरिन्थ्यो । तर, जब जनयुद्धको समयमा माओवादीले गाउँ–गाउँबाट जनता लखेट्यो, तब उपत्यकामा जग्गाको किनबेच हुन थाल्यो। गाउँका जनता शहर पसे। रोचक त के छ भने, गाउँका दलालीहरु पनि यतै पसे । अनि त्यसपछि उनीहरुको ठगीधन्दा शुरु भयो । यिनीहरुले उपत्यकामा सस्तोमा जग्गा किने। रोपनीको पाँच–दश हजारमा जग्गा किनियो । अनि खण्डीकरण गरेर आनाकै ६०–७० लाखमा बेचियो।
यसरी जग्गा किन्ने र बेच्ने दुवैलाई ठगियो । माओवादीले शोषक, सामन्ती गाउँबाट त लखेट्यो तर उनीहरुले शहरमा पसेर ठगीधन्दा मच्चाए । जग्गाको मूल्य जहिल्यै पनि बढिरहने भ्रम सिर्जना गरेर सोझासाझा जनतालाई फसाइयो । माओवादीले गाउँबाट लखेटेको दलाली, बिचौलियाहरु यहाँ घरजग्गा, शेयर दलाली बने ।
बैंकले सय रुपियाँ कित्तामा निष्कासन गरेको शेयर दलालीहरुले मूल्य बढाएर सर्वसाधारणलाई चार हजारमा बेचे । अहिले शेयरमा लगानी गर्ने सर्वसाधारण नराम्ररी डुबेका छन् । शेयर जुवा हो, त्यसैले अब दलालीहरुको कुरामा लागेर यसमा लगानी नगरौं।
जनयुद्धको समयमा गाउँबाट माओवादीले लखेटेका शोषक, सामान्तीहरु शहर पसे । अहिले उनीहरुको जीवनमा धेरै परिवर्तन आएको छ । उनीहरुले काठमाडौंमा तीन–चारवटा घर बनाएका छन् । आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाएका छन् । करोडदेखि अर्बौंको सम्पत्ति जोडेका छन् ।
माओवादीले लखेटेपछि त्यस्ता शोषक, सामन्तीहरुको जीवनमा झन् परिवर्तन आयो । उनीहरुले झन् सर्वसाधारण ठगेर कमाए । अनि फाइदा भयो त जनयुद्धको ? शोषक, सामन्ती सिध्याउँछौं भनेर माओवादीले हतियार उठाएको थियो । सो क्रममा १७ हजार बढी नेपालीले ज्यान गुमाउनुप¥यो । विडम्बना, त्यस्ता शोषक, सामन्ती सकिएनन्, उल्टै अहिले बढेका छन् । अहिले जताततै सोझासाझालाई त्यस्ता सामन्तीहरुले ठगेका छन्, लुटेका छन् ।
०५० सालमा तीसौं रोपनी जग्गा भएकाहरु अहिले तीन आनामा झरेका छन् । किनकि त्यस्ता शोषक, सामन्तीहरुले सोझासाझाको सबै सम्पत्ति लुटे, उनीहरुलाई फसाएर । सदरमुकाम र काठमाडौं उपत्यकाका जनता आज सडकछाप भएका छन् । तर, गाउँका शोषक, सामन्तीहरु आज राजधानीमा आएर अर्बपति बनेका छन् ।
प्रचण्डले शोषक, सामन्तीको अन्त्य गर्छु भनेर हतियार उठाए, तर आज माओवादीले नै यिनीहरुको अगाडि आत्मसमर्पण गरेको छ । अनि के फाइदा भो जनयुद्धको ? १७ हजार नेपालीले ज्यान गुमाएर के पाए ?
– सविना केसी ।











प्रतिक्रिया