बिचौलियाबाट जोगिन यात्रुलाई आग्रह, सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने तयारी


काठमाडौं ।

नेपालीहरूको महान चाड दशैंलगायत अन्य चाड नजिकिएसँगै मुलुकका विभिन्न क्षेत्रमा छरिएर रहेका नेपालीहरू आफ्नो थातथलो फर्कने तयारीमा जुटेका छन्।

चाडबाड नजिकिएसँगै देशभर चल्ने सवारी साधनलाई चुस्त दुरुस्त बनाउने कामसँगै विभिन्न क्षेत्रमा जाने नेपालीका लागि टिकटको व्यवस्था गर्ने कामलाई व्यवसायीहरूले अन्तिम रूप दिएका छन्।

व्यवसायीले आफ्नो गन्तव्य पुग्ने नेपालीलाई सकस नहोस् भनेर टिकटको व्यवस्थालाई चुस्त दुरुस्त बनाउने प्रयास गरे पनि यसमा बिचौलिया हाबी हुने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

सरकारले पनि यसपटक दशैं तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउन मातहतका निकायलाई निर्देशन दिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले चाडबाडको मौका छोपेर बिचौलियाहरूले मनपरी गर्न सक्ने भएकाले त्यस्ता क्षेत्रमा सादा तथा डिउटीमा रहने सुरक्षाकर्मीलाई परिचालन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो।


उहाँले आफ्नो गन्तव्यमा जाने नेपाली नागरिकले हतार र भीडभाडमा टिकट काट्दा धेरै यात्रुले कुन गाडीमा जाने हो, त्यसको नम्बर कति हो, सिट नम्बर कुन हो भन्ने थाहा नपाउने अवस्था रहने भएकाले त्यसलाई सहजीकरण गर्न नागरिक सहायता कक्ष स्थापना गरिने जानकारी दिनुभयो ।

यता, यातायात व्यवस्था विभागले ‘चाडपर्व लक्षित यातायात सेवासम्बन्धी’ सूचना जारी गर्दै यात्रुले कहाँ र कोसँग टिकट काट्ने हो त्यसको निक्र्यौल गर्न आग्रह गरेको छ । यसभन्दा अघि पनि चाडबाडमा यात्री ठगिने गुनासो आएकाले त्यसलाई यस पटक भने दोहोरिन नदिन सबै सरकारी निकाय एक भएर अघि बढ्न सरकारले निर्देशन दिएको छ ।

कुन ठाउँको भाडा कति हो भन्ने विषय थाहा नहुँदा ठगिने गरेको यात्रुहरूले गुनासो गरेका छन् । सिन्धुली, कमलामाई नगरपालिका स्थायी घर भई काठमाडौं शंखमूलमा बस्ने सन्ध्या बरालले अघिल्ला वर्षहरूमा चाडबाडको मुखमा घर जाँदा सरकारले तोकेको भन्दा ४ गुणा बढी भाडा तिरेर गएको बताउनुभयो । उहाँले दशैं नजिकिएसँगै बिचौलियाहरू सलबलाउने र उनीहरूले सवारी साधनको अभाव भन्दै चर्को शुल्क असुल्ने गरेको दाबी गर्नुभयो ।

सबै यात्रुले यातायात व्यवस्था विभागको वेबसाइटमा तोकेको भाडा दर हेर्न तत्काल पहुँच नहुने भएको हुँदा यात्रुलाई यातायात व्यवसायीले ठगी गर्ने गरेको गुनासो यात्रुहरूले गर्ने गरेका छन् ।

कानुननतः प्रत्येक सार्वजनिक सवारी साधनमा यात्रुले देख्ने ठाउँमा भाडाको दररेट टाँस्नुपर्ने प्रावधान भए पनि कतिपय यातायात व्यवसायीले ठग्ने नियतले भाडादर टाँस्ने नगरेको आरोप यात्रुहरूले लगाउने गरेका छन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सवारी साधनमा भाडा दर टाँस्नुपर्ने प्रावधान भए पनि प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा यात्रीहरू यदाकदा ठगिएको गुनासो आउने गरेको जानकारी दिनुभयो ।
उहाँले कुनै पनि भाडादर नराखेमा ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभाग, प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो ।

विभागका सूचना अधिकारी पनेरुले नयाँ बसपार्कबाट परिचयपत्र लगाएका आधिकारिक काउन्टरका कर्मचारीसँग मात्र टिकट काट्न अनुरोध गर्नु भएको छ । उहाँले अनलाइनबाट टिकट काट्दा निश्चित व्यक्ति हो वा होइन निश्चित गरेरमात्र बस टिकट काट्न पर्नेमा जोड दिनुभएको छ ।

दशैंका लागि अग्रिम टिकट १२ गतेबाट
दशैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो।

यस वर्ष घटस्थापना असोज १७ गते परेको छ। दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो।

कसरी कम गर्न सकिन्छ ठगी र दुर्घटना
–गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने
– गाडीको यान्त्रिक परीक्षण गर्ने
–लामो दूरीका गाडीमा दुई सवारी चालक भए नभएको जाँच गर्ने
– यात्रुले मादक पदार्थ सेवन गरे नगरेको भनी कडा रूपमा परीक्षण गर्ने
– टाइम कार्ड लागू गर्ने
–प्रहरीले सवारी साधनको बिमा गरे नगरेको चेकजाँच गर्ने
– यात्रुलाई सवारी तथा चालकको बारेमा कुनै शंका लागेमा प्रहरीलाई खबर गर्ने