बाँके ।
रंगशाला भन्ने वित्तिकै सबैको दिमागमा फुटबल मैदान आइहाल्छ। यद्यपि, रंगशालाभित्र धेरैप्रकारका संरचना हुन्छन्, नेपालगन्जमा पनि राम्रो रंगशाला छ।
आर्थिक वर्ष २०७५/२०७६ मा नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न भयो। प्रतियोगिताका लागि करोडौका संरचना बनाइयो । फुटबल मैदानमा ३८ लाखको बर्मुडा दुबो रोपियो। त्यतिबेला बर्मुडा दुबोको खुब चर्चा थियो। अहिले भने बर्मुडा दुबो एउटा पनि देख्न सकिँदैंन।
संरक्षणको अभावमा स्थानीय दुबो र घाँसले बर्मुडाको अस्तित्व मेटाइसक्यो । राम्रो प्यारापिट बन्यो । यो पनि संरक्षणकै अभावमा धुलाम्यै मात्रै भएको छैन, मक्की सकेको छ । रंगशालाको फुटबल मैदान यतिबेला घाँसे मैदानमा परिणत भएको छ, सिरो पलाएको छ।
नियमित फुटबल खेल्न नदिँदा मैदानको यो हविगत भएको हो। यो रंगशालामा स्थानीय खेलाडीले अभ्यास गर्न नपाएको करिब सात वर्ष भइसकेको छ। आठौं राष्ट्रिय खेलकुद हुनुअघि नै मर्मतको नाममा रोकिएको रंगशाला अझैसम्म खुल्ला गरिएको छैन। खेलाडीले अभ्यास गर्न र खेल्न पाएका छैनन्, बिडम्बना नै भएको छ।
बाँके जिल्ला फुटबल संघले रंगशाला उपलब्ध गराइदिन माग गरिरहेको हुन्छ। माथिको आदेश, कार्यविधि नबनेको भन्दै मैदान उपलब्ध गराइएको छैन । रंगशालामा फुटबल खेल्न नपाएपछि जिल्लाको फुटबलको अवस्थाको स्वतःमूल्यांकन गर्न सकिन्छ। नेपालगन्जबाहिर क्लबहरुले प्रतियोगिता गरेपनि जिल्लामा नियमित अभ्यास हुन सकेको छैन।
जिल्लाकै टीम बनाउनु प¥यो भने अभ्यास बिना नै टिपेर बनाउनु परेको छ। फुटबल संघले हालै जिल्ला लिगहरु (ए र बी डिभिजन) कोहलपुरमा गरेको छ । कतिसम्म भने यो बीचमा नेपालगन्ज गोेल्डकप समेत खजुरामा गरिएको थियो।
बाँके जिल्ला फुटबल संघले फेरि मैदानका लागि चौतर्फी दबाब बढाएको छ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रमुख महेश चन्दलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश र केन्द्रमा लबिङ थालेको छ । एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्लाफुटबल संघका अध्यक्ष भोजराज शाहीले प्राविधिक कारण भन्दै रंगशाला उपलब्ध नगराइदिँदा सात वर्षदेखि स्थानीय खेलाडीले अभ्यास गर्न नपाएको बताए।
अध्यक्ष शाहीले बताए—‘संघले १२ वर्ष मुनिका बालबालिकालाई नियमित प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि रंगशाला माग गरेको छ । ‘सय बढी बालबालिका प्रशिक्षणका लागि तयार छन्, मैदान मात्रै उपलब्ध गराइदिनु। प्रशिक्षक, फुटबल सबै आफै ल्याउँछौं भन्दापनि मैदान पाइएको छैन, अब मैदान उपलब्ध गराउनु पर्छ। प्राविधिक कारण के हो मिलाउनु पर्छ।’











प्रतिक्रिया