सत्ताच्युतपछि मन बहकाउँदै प्रचण्ड

1.5k
Shares

काठमाडौं ।

नेपालमा राजसंस्था हटाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेतामध्येका एक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन यतिखेर बहकिएर राजसंस्थाप्रति लचकता देखिएको छ।

गणतन्त्र प्राप्तिपछि सबैभन्दा बढी सत्ताभोग गरेको माओवादी र सो दलका अध्यक्ष प्रचण्डले मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको छलफलमा राजसंस्थाप्रति लचकता देखाउनुभएको हो । दश वर्षे सशस्त्र युद्धपश्चात् २०६२/०६३ को १९ दिने जनआन्दोलनको बलमा तत्कालीन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलले राजसंस्था हटाएर गणतन्त्र घोषणा गर्दै नयाँ युग शुरू भएको घोषणा गरेका थिए।

सोही परिवर्तन र नयाँ व्यवस्थामा सबैभन्दा बढी राज्य शत्ताको उपभोग गर्नुभएका पूर्व प्रधानमन्त्री दाहाल पछिल्लो २ महिनायता सत्ताबाहिर हुनुहुन्छ। गणतान्त्रिक व्यवस्था आएको डेढ दशक र संविधानसभाबाट संविधान जारी भएको करिब एक दशकमै वर्तमान व्यवस्थाको मसिया ठान्ने प्रचण्डले राजसंस्था पक्षधार नेता मिश्रसँग गरेको छलफलको सारांशले राजसंस्थाको पक्षमा नरम हुँदै गएको पुष्टि हुन्छ । तर, उहाँ आफैंले भने यसबारेमा आफ्ना धारणा सर्वजनिक गर्नुभएको छैन।

राप्रपाका नेता मिश्रले गर्नुभएको ट्विटअनुसार उक्त कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राजा ज्ञानेन्द्रले २०६२/०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए यस्तो परिस्थिति नआउने बताउनुभएको छ।
हिन्दुराज्यसहितको राजसंस्थाको पक्षमा वकालत गर्दै आएका नेता मिश्रले खुमलटारस्थित दाहाल निवासमा पुगेर उहाँसँगको संवादको तस्वीर सार्वजनिक गर्नुभएको छ।

उक्त संवादपछि मिश्रले एक्समार्फत् ‘प्रचण्डसँग मनका कुरा !’ शीर्षक दिएर दुई नेताबीच भएको संवादको सारांश लेख्नुभएको छ। वर्षौंपछि प्रचण्ड निवासमा भेट भएको बताउँदै मिश्रले आफूले राजसंस्था पुनस्र्थापित गरेर देशलाई जोगाउनुपर्ने धारणा राखेको उल्लेख गर्नुभएको छ।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ, र त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र शालिक केही बाँकी रहने छैन । लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।’ मिश्रका अनुसार प्रचण्डले यसबारे ७ बुँदामा जवाफ दिनुभएको छ।

अध्यक्ष दाहालले नेपालका उद्योगधन्दाहरूको सबै विवरण हेर्दा पञ्चायतकालमा धेरै राम्रो काम भएको, महेन्द्र ‘भिजनरी’ राजा रहेको, वर्तमान परिस्थितिको निरन्तरताले देश नचल्ने निष्कर्षमा पुगिसकेको, सशस्त्र संघर्षका बेला आफूले राजासँग मिलेरै जान चाहेको, राजा ज्ञानेन्द्रले २०६२/०६३ को आन्दोलनताका अलिक नरम भइदिएको परिस्थिति फरक हुने र अब निरन्तरताको क्रमभंग चाहिएको बताएको मिश्रले पुष्टि गर्नुभएको छ ।

राजसंस्था र हिन्दुराज्यको विषयमा उच्चारण गर्नेमाथि निरन्तर जाइलाग्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिले राजनीतिक रूपमा तरंग ल्याएको छ। सत्ता राजनीतिको केन्द्रमा घुमिरहने उहाँलाई गत असार १७ को राती संसद्का ठूला दुई दल कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमतिले झस्का दिएको थियो ।

दुई दलको सहमति कार्यान्वयन गर्दै असार ३० मा संसद्को पहिलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै आगामी निर्वाचनसम्म सत्तामा जाने बाटो बन्द भएको दाहालले महसुस गर्नुभएको छ ।

संसद्मा ३२ सिटसहित तेस्रो दल बनेको माओवादीले पहिलो र दोस्रो दल कांग्रेस–एमालेलाई सत्ता गठबन्धन फेर बदलमा दुई–दुई पटक धोका दिएको थियो ।

डेढ वर्षमा चारपटक सत्तासमीकरण परिवर्तन गर्दै राजनीतिक अस्थिरतामा रमाएका दाहाललाई साइजमा राख्दै राजनीतिक स्थिरता, संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण, विकास र समृद्धिसहितका सात बुँदे सहमति गरेका कांग्रेस–एमाले अहिले सत्ता सहयात्रामा छन् ।

ठूला दुई दलको सत्ता सहकार्यप्रति माओवादी, रास्वपा, राप्रपासहित केही दलहरू असन्तुष्ट छन् । प्रतिपक्षमा रहेका ती दलहरूबीच सरकारप्रति खरो उत्रने सहमतिसमेत भएको थियो । राप्रपाका नेता मिश्रसँगको मंगलबारको भेटपछि माओवादी अध्यक्ष दाहाल थप बहकाउँदै पुरानै (राजसंस्था) व्यवस्थाप्रति नरम हुनखोजेका हो कि भन्ने शंसय उत्पन्न भएको राजनीतिक विश्लेषकहरूले समेत बताएका छन् ।