काठमाडौं ।
भ्रष्टाचार मुद्दामा सजाय पाएर कारागार जीवन बिताइरहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलले हुन्डीमार्फत् करोडौं रुपियाँ अमेरिका पुर्याएको पाइएपछि अर्को मुद्दा दायर भएको छ।
यस्तै, विकलमाथि ठूलो परिमाणमा विदेशी मुद्रा गैरकानुनी रूपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको आरोपमा अर्को मुद्दा पनि लाग्ने भएको छ।
यस प्रकरणमा राजस्व अनुसन्धान विभागले विकल र अमेरिकामा रहेकी उहाँकी श्रीमती एलिना बस्नेतमाथिको छानबिलाई तीव्रता दिएको छ। विभागले छानबिनलाई अन्तिम चरणमा पुर्याएकाले विकलविरुद्ध छिट्टै विदेशी विनिमय अपलचनमा पनि मुद्दा दायर हुने भएको छ ।
अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएर कारागार चलान भएका विकलमाथि भ्रष्टाचारको करोडौं रकम हुन्डी गरी विदेश पठाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको छ। सीआईबी ले १ करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो । विकलले भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत् अमेरिका पठाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलमाथि भ्रष्टाचारमा छानबिन गर्दा उनले भ्रष्टाचार गरेर आर्जन गरेको अकुत सम्पति हुन्डीमार्फत् अमेरिका लैजाने गरेको फेला पारेको थियो। त्यसपछि अख्तियारले विकलमाथि हुन्डी कारोबारमा छानबिन गर्न सीआईबीलाई पत्राचार गरेको थियो । अख्तियारको पत्रका आधारमा सीआईबीले उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो।
विकलले भ्रष्टाचार गरी आर्जन गरेको करोडौं रुपियाँ उनले अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतमार्फत् कारोबार गरेका थिए। सीआईबीले बिगोको तीन गुणा जरिवाना र सात वर्षसम्म कैद सजाय माग गरी मुद्दा दायर गरेको हो।
विकलमाथि करिब १० करोडको विदेशी विनिमय अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ। विभाग स्रोतका अनुसार यस प्रकरणमा विकल र उनकी श्रीमती बस्नेतमाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ। दुवैजनामाथि झण्डै १० करोडको विदेशी विनिमय अपचलन सम्बन्धी मुद्दा दायर हुने भएको छ।
टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध किर्तेमा मुद्दा
प्रहरीले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध किर्ते मुद्दा दायर गरेको छ । पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर हाल कारागारमा छन् ।
कर कार्यालयको कर चुक्तासम्बन्धी नक्कली कागजपत्र बनाएको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा पौडेलविरुद्ध लिखत किर्ते मुद्दा दायर गरेको हो। भ्रष्टाचार मुद्दाकै अनुसन्धानको क्रममा उनको घरबाट नक्कली कागजपत्र भेटिएपछि त्यससम्बन्धी अनुसन्धान गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको थियो।
जसमा मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड (ग) अनुसारको कसुरमा अभियोग दायर गरिएको काठमाडौं प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ बमोजिम पछिल्लोपटक गरेको कसुरमा हुने सजायको दोब्बर सजायसमेत मागदाबी गर्दै मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
सुनीलविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिवानाको मागदाबी लिई मुद्दा दायर भएको हो। सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा उनलाई नौ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार सात रुपियाँ जरिवानाको फैसला भएको थियो।
प्रतिक्रिया