नेपालको पर्यटन विकासमा चीनको साथ

1.88k
Shares

काठमाडौँ।

नेपालको लागि चीनको कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्धनमा चीनको महत्त्वपूर्ण सहयोग रहने बताएका छन् । 

चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेको  पाँच बर्ष पूरा भएको अवसरमा फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले भ्रमणको उपलब्धि र कार्यान्वयन विषयमा आयोजना गरेको अन्तर्क्रियामा कार्यवाहक राजदूत वाङ्ग सीनले नेपाल र चीन बीच रहदै आएको परम्परागत सम्बन्धको चर्चा गर्दै  चीन सरकारले पहिलो चरणमा रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका खुलाएको बताए। कार्यवाहक राजदूत वाङ्ग सीनले दोस्रो चरणमा चीनसंग सिमाना जोडिएको विभिन्न जिल्लाको १४ वटा नाका खुला गरेको समेत बताए ।  

कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको उच्च स्तरीय नेताहरुले विभिन्न समयमा चीनको भ्रमण गर्दै आएको उल्लेख गर्दै  त्यस्तै भ्रमणको क्रममा सहमति भएको काठमाडौँ रिङरोेडको काम चाँडै सुरु गरिने र दोस्रो चरणमा अरनिको राजमार्ग विस्तारको काम समेत सुरु हुने बताए ।

फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विक्रम तिमिल्सिनाले नेपाल– चीन सम्बन्ध: विकास, अवसर र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमा पत्रकार ठाकुर बेलबासेले टिप्पणी गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल लगायतले चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेपछि भएका उपलब्धि र त्यसको प्रभावकारिताको विषयमा आफ्ना धारणा राखेका थिए।