मुख्यमन्त्री पाण्डेद्वारा जैविक मल उत्पादन केन्द्रको उद्घाटन

3.29k
Shares

  नवलपरासी। 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पूर्वी नवलपरासीकाे मध्य विन्दुमा  जैविक मल उत्पादन केन्द्रको मंगलबार उद्घाटन गरेका छन् ।

मध्यविन्दु नगरपालिका र गण्डकी प्रदेश सरकारकाे साझेदारीमा मुख्यमन्त्री नव प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थापित सो जैविक मल उत्पादन प्लान्टकाे स्विच थिचेर मुख्यमन्त्री पाण्डेले सरसफाइ केन्द्र सञ्चालनको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा मुख्य मन्त्री पाण्डेले विभिन्न नव प्रबर्द्धनात्मम काम सहित अघि बढेकाे मध्यविन्दु नगर कार्यपालिकालाई धन्यबाद दिदै सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन कार्यक्रमसंग जोडिँदै यसमा नगरबासीकाे पूर्ण सहभागिताका लागि आह्वान समेत गरेका छन् ।

 कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जैविक विविधता युक्त वातावरणलाई हामीले सफा राख्न नसक्दा जलवायु परिवर्तनका असरले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै गएको बताए ।

मध्यविन्दु नगरपालिकाले नगरका अधिकांश  वडाहरूलाई समेट्दै गाउँ,सहर बजार तथा बाटाघाटा, पार्क,खाेला नदीमा छरपस्ट रहेका फाेहर सङ्कलन गरी  त्यसकाे वर्गीकरण सहित करिब २ वर्ष देखि सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादनकाे प्रयास थालेकाे हाे ।

बिशेष  गरी  घर आगनबाट निस्केका पातपिङ्गर, कुहिने बस्तु जन्य फाेहरलाई गाई बस्तुका मलमुत्रसंगै मिसाएर निश्चित दिन सम्म छाेपर कुहाएकाे पदार्थलाई विभिन्न प्लान्टमा राखेर प्रसाेधन गर्दै तयारी अवस्थाकाे सुख्खा जैविक मल केन्द्रबाट उत्पादन हुने गरेको छ ।

त्यसै गरी  नकुहिने फाेहर माेटाे कागज ,प्लास्टिक, फलाम, क्यान बाेतललाई पुनर्प्रयाेगमा आउने कच्चा पदार्थकाे रूपमा अलग्याएर राख्ने कार्यकाे व्यवस्थापन नगरपालिकाकाे ११ नम्वर वडा स्थित सरसफाई केन्द्रले गर्दै  आएको छ । 

सोही अवसरमा  नगरपालिका अध्यक्ष भिमलाल अधिकारीले सरसफाइ प्रवर्द्धन केन्द्र, विद्यालय जाने बालबालिकामा नैतिक मूल्य मान्यता युक्त व्यवहार परिवर्तनका लागि खुसी पाठ्यक्रम र हालै कृषि क्षेत्रकाे बिकासमा मुख्यमन्त्री नव प्रवर्द्धन साझेदारी कार्यक्रम मध्य विन्दुलाई पर्नु नगरबासीका लागि खुसीको कुरा भएको बताए ।

नगर अध्यक्ष अधिकारले जैविक मल उत्पादन तथा सरसफाइ केन्द्रमा हाल सम्म करिब ४ करोड ५० लाख रुपैयाँ खर्च भएको र यसलाई यसको उदेश्य अनुरूप बिकास गर्दै लैजान नगरपालिकाले यस वर्ष थप २ करोड रकम बिनियाेजन गरेको उद्घाटन कार्यक्रममा  जानकारी दिएका थिए ।

प्रदेश राजधाजी पाेखराबाट तराईकाे जिल्ला झरेका मुख्यमन्त्री पाण्डेले दिनभर मध्यविन्दुकै विभिन्न वडा र नगरमा आयोजित कार्यक्रममा सहभागी रहने प्रेस सल्लाहकार नरहरि सापकाेटाले बताए ।