बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाइते


रौतहट ।

 पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा यात्रुवाहक बसको अगाडिको पट्टा भाच्चिएर आज बिहान दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

काँकडभिट्टाबाट दाङको लागि  गएराती १ बजे हिनेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए। घाइतेहरूको निजगढ स्थित सामुदायिक प्रसूति गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ ।

प्रसूति गृहमा उपचाररत मध्ये  छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको  इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।