धादिङका सरोकारवालालाई क्रिस्टा प्रविधिका बारेमा पहिलो पटक प्रशिक्षण 


धादिङ्ग ।

 विपद् सम्वन्धी सूचना आदान प्रदान गर्ने नयाँ प्रविधिको रुपमा विकास गरिएको क्रिस्टा प्रविधिका बारेमा धादिङका सरोकारवालाहरुलाई प्रशिक्षण दिइएको छ । विश्वमै नयाँ प्रयोगको रुपमा रहेको क्रिस्टा प्रविधि सुरुमा धादिङका तीन पालिकामा लागू गर्न लागिएकाले तीनै पालिकाका सरोकारवालाहरुलाई प्रशिक्षण दिइएको हो ।

धादिङका नीलकण्ठ नगरपालिका, गजुरी र बेनीघाट रोराङ्ग गाउँपालिकाका विद्यालय तथा क्यापसका शिक्षक तथा विद्यार्थी, सुरक्षाकर्मी, सरकारी अधिकारी, जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा र स्थानीय बासिन्दालाई क्रिस्टा प्रविधि बारे जानकारी दिइएको क्रिस्टा परियोजनाकी कार्यक्रम अधिकृत युरिशा उपाध्यायले जानकारी दिइन् । “कतिपय ठाउँमा उनीहरुलाई भेला नै गरेर प्रशिक्षण दिएको छ भने कतिपय ठाउँमा भेटघाट गरेर क्रिस्टा बारे जानकारी गराइएको छ,” उपाध्यायले भनिन् ।

उनका अनुसार धादिङका बेनीघाट रोराङ्गको वल्लो फजिमटार, पल्लो फजिमटार र चन्द्रोदय बहुमुखी क्याम्पस, गजुरीको आदर्श बहुमुखी क्याम्पस र सशस्त्र प्रहरी बल आदमघाट र नीलकण्ठ नगरपालिकाको नीलकण्ठ क्याम्पस र सशस्त्र प्रहरी बल धादिङ्गवेशी लगायतका ठाउँमा क्रिस्टा प्रविधिको प्रयोगका बारेमा जानकारी गराइएको छ ।

मोवाईल एप र कम्युटर प्रणाली मार्फत स्थानीय स्तरमा भएका घटनाको विवरणहरु र फोटो सम्वन्धीत ठाउँमा पठाउन मिल्ने प्रणालीलाई क्रिस्टा प्रविधि भन्ने गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । यो प्रविधि प्रयोग गर्नका लागि सम्वन्धीत निकाय (पालिकाको कार्यालय वा तोकिएको कार्यालय) मा सामान्य सुचना प्रणाली (ड्यासवोर्ड) जडान गरिन्छ । त्यसपछि सम्वन्धीत क्षेत्रमा कुनै पनि विपद्का घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो र अक्षरमा एप मार्फत् जानकारी गराउन सक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरु पठाउने वित्तिकै ड्यासवोर्ड रहेको ठाउँमा सूचना आएको संकेत जान्छ । त्यही सूचना, संकेत, फोटो र विवरणहरुका आधारमा उद्धार सामग्रीहरु सहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ । यस्ता घटनाका बारेमा अहिलेसम्म फोनबाट जानकारी दिने गरिएकोमा त्यस्ता जानकारी विश्वासीलो र पर्याप्त नहुने भएकाले डिजिटल माध्यम मार्फत गर्दा विश्वासीलो र धेरै विवरण पाइने भएकाले उपयोगी हुने सुरक्षाकर्मीहरुको ठहर छ ।

प्रशिक्षणमा सहभागी गजुरीको सशस्त्र प्रहरी बल आदमघाटका सुरक्षाकर्मीहरुले यो प्रविधि लागू भएका आफूहरुलाई धेरै सजिलो हुने अनुभव सुनाएका थिए । डिएसपी मदन कुमार रसाइलीले यस्तो प्रविधिको आवश्यकता आफूहरुले महसुस गरिरहेका बेला क्रिस्टा प्रविधि लागू हुन थालेको थाहा पाउँदा खुशी लागेको बताए । उनले स्थानीयले पठाएको सूचना गाउँ वा नगरपालिकाको कार्यालयमा भन्दा सुरक्षा निकायको कार्यालयमा राख्नु राम्रो हुने सुझाव पनि दिएका थिए ।
वेनीघाट रोराङ्गको पल्लो फजिमटारमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी सरिता घिमिरेले गाउँमा घटेका दुर्घटना वा विपद् सम्वन्धी जानकारी सरोकारवालासम्म पुर्याउन यो प्रविधि निकै उपयोगी हुने अनुभव सुनाईन् । उनले आफूहरूले पठाएका जानकारी सरकारी कर्मचारीले सही समयमा हेरेर सही निर्णय गर्लान की नगर्लान् भन्ने आशंका पनि व्यक्त गरिन् ।

नीलकण्ठ नगरपालिका स्थीत नीलकण्ठ बहुमुखी क्याम्पसमा भएको प्रशिक्षण कार्यक्रममा यस प्रविधिलाई तीन पालिकामा मात्रै नभई अन्य पालिकाहरुमा पनि लागू गर्नु पर्ने आवाज उठेको थियो । रुविभ्याली गाउँपालिकाबाट निलकण्ठमा अध्ययनका लागि आएकी रेविका तामाङ्गले आफ्नो गाउँतिर विपद्का घटना अझ धेरै हुने गरेकाले त्यहाँ यो प्रविधि अति आवश्यक रहेको बताएकी थिईन् ।

सिकाईमा सहभागी सबैले अत्यन्त रुचि राख्दै सिकाई चलिरहेकै बेला एप नै डाउनलोड गरेर प्रयोग गर्ने गरेको कार्यक्रम उपाध्यायले जानकारी दिइन् । “जति जनालाई हामीले सिकाउन भ्यायौँ, त्यति जनाले नै एकदमै चासो राखेको पाइयो, कतिपयले त काम लाग्ने चिज रैछ भन्दै एक अर्कालाई सिकाउनु भएको थियो भने घरमा र छिमेकमा पनि सबैलाई सिकाउने बताउनु भएको थियो,” उनले भनिन् ।

उनका अनुसार गाउँगाउँमै पुगेर पछिल्लो दुई हप्तामा प्रत्यक्ष रुपमा २२६ जनालाई क्रिस्टा प्रविधिको प्रयोग गर्न सिकाइएको छ भने काठमाडौमा २८ पत्रकारलाई जानकारी गराइएको छ । पत्रकारहरुका लागि आयोजित अन्तरक्रियामा सहभागी पत्रकारहरुले पनि यो प्रविधि अति उपयोगी हुने देखिएकाले देशव्यापी रुपमा लागू गर्नुपर्ने, त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने र आम नागरिकमा यस बारेमा सचेतना फैलाउनु पर्नेमा जोड दिएका थिए ।  
थाईल्याण्डको एसियन इन्टीच्युड अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजीत पलले प्रतिपादन गर्नुभएको विपद्को सूचना आदान प्रदान गर्ने क्रिस्टा प्रविधिलाई विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय निकायहरुले समेत नवप्रवद्र्धनको रुपमा स्विकार्दै पुरस्कृति समेत गरिसकेका छन् ।