मुग्लिनमा गाडीकाे ठक्करबाट एकको मृत्यु


काठमाडाैं ।

नारायणगढ–मुग्लिन सडकमा शनिबार सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नम्बरको पिकअप गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बरको बसले ठक्कर दिएको थियो।

बसको ठक्करपछि अनियन्त्रित भएको पिकअप गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिए।

ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। बस र पिकअप गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।