हरिप्रसादको शतवार्षिकीमा ३ दिने नाटक महोत्सव, कलाकर्मी र सञ्चारकर्मीलाई सम्मान


काठमाडौं ।

रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेता स्व. हरिप्रसाद रिमालको शतवार्षिकी पारेर पहिलोपटक राष्ट्रिय नाटक महोत्सव २०८१ गरिने भएको छ।

स्व. हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले सोमबार मध्य बानेश्वरस्थित रिमाल हाउसमा एक पत्रकार सम्मेलन आयोजना गरी आगामी भाद्र ३० गतेदेखि राष्ट्रिय नाचघरमा पहिलोपटक नाटक महोत्सव आयोजना गर्न लागेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता एवं रंगकर्मी सम्राट सापकोटाले पछिल्लो समय नेपाली नाटकको अवस्था दयनीय बन्दै गइरहेकाले यसलाई झक्झक्याउनका लागि पनि नाटक महोत्सव गर्न लागेको बताए।

‘हामीले श्रद्धेय हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेका हौं। यसले नेपाली नाटकको श्रीवृद्धिमा थप टेवा पुग्ने विश्वाससमेत लिएका छौं’ स्व. रिमालका कुशल चेलासमेत रहेका सापकोटाले पछिल्लो समय नेपाली नाट्य क्षेत्रका गतिविधि सुस्त भएको र प्रविधिको विकाससँगै नाटकप्रति दर्शकको आकर्षण घट्दै गएकाले यस खालका कार्यक्रमले नाट्य क्षेत्रलाई राहत दिने विश्वास रहेको जनाउँदै भने।

देशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये महोत्सवका लागि जुरी टिमले प्रदर्शनको अनुमति दिएका ६ वटा नाटक प्रर्दशन गरिने र उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने उनले जानकारी गराए।

प्रतिष्ठानका अनुसार महोत्सवमा विजयी हुनेलाई ट्रफी र सम्मानपत्रसहित पहिलो पुरस्कारस्वरुप एक लाख रुपियाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपियाँ र तेस्रो पुरस्कारस्वरुप २५ हजार रुपियाँ प्रदान गरिनेछ। त्यसै गरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही नगद १५ हजार रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिने पनि आयोजकले जानकारी गराए।

भाद्र ३०, ३१ र असोज १ गरी तीन दिवसीय महोत्सवमा मध्यान्ह १२ बजेदेखि दैनिक दु्ई नाटक मञ्चन गरिने तथा स्व. रिमालको जन्मजयन्तीको दिन असोज २ गते पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएका छन्। सोही दिन प्रतिष्ठानले कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गर्दै आइरहेको शताब्दी स्मृति सम्मान पनि प्रदान गर्ने भएको छ।

यस वर्ष २०७९ र २०८० साल गरी कला र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने नयाँ र पुराना गरी ८ व्यक्तित्वलाई दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने समेत सापकोटाले जानकारी गराए। सम्मानको राशी ३१ र २१ हजार रुपियाँ रहेको छ। सम्मानितको नाम सोही दिन घोषणा गरिने पनि उनले जानकारी गराए।

पत्रकार सम्मेलनमा रिमालका जेठा छोरा एवम् प्रतिष्ठानका संरक्षक अरुणप्रसाद रिमालका साथका प्रतिष्ठानका सदस्यहरूको सहभागीता रहेको थियो।