रोनाल्डो बने ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी


काठमाडौं

क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गर्दा निर्णायक गोल गरेका रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् ।

गए राति सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए। रोनाल्डोले आफ्नो क्यारियरमा ९००औँ गोल गरेका हुन्।

रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका छन्। पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ।