भोकाएका रोनाल्डोलाई सित्तैमा खाना दिने महिला

11.94k
Shares

काठमाडौं ।

हामीले कुनै चर्चित ब्यक्तिको जीवनी सुन्दा र पढ्दा प्रायः जसोको विगत अभावमा बितेको पाउँछौ । कोही रोगी, कोही गरीबी त कोही बेसहारा भएर हुर्केका भुइँमान्छेहरुले नै इतिहास बदल्ने सामर्थ राखेका छन् । त्यस्तै, एउटा कहानीका पात्र हुन पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डो ।

सम्भवतः फुटबलको दुनियाँमा यो नाम नसुनेको शायदै होलान् । रोनाल्डोको वर्तमान जति ऐश्वर्यले परिपूर्ण छ, त्यति नै कष्टकारी उनको विगत थियो । यो कुराको खुलासा उनी स्वयंले एउटा अन्तरवार्ता बोलेका छन् । क्रिस्टियानोले आफ्नो बाल्यकाल गरिबीमा भोगेको र प्रायः खानेकुरा नपाएर भोकै बस्नु परेको अनुभव साटेका छन् ।

बाल्यकालमा उनले आफ्नो परिवारलाई ३ महिनामा एक पटक मात्रै देख्ने गरेको कठिन समयको बारेमा पनि बताएका छन् । उनले भने,–“तपाईंलाई थाहा छ, जब म ११–१२ वर्षको बच्चा थिएँ र हाम्रो परिवारसँग खानालाई समेत पैसा थिएन । त्यस्तो समयमा ३ महिला मेरो लागि देवदूतका रूपमा प्रकट भएका थिए । प्रायः रातको १०ः३० वा ११ बजेको आसपास, हामी धेरै भोकाएका हुन्थ्यौँ । तर, खानालाई पैसा हुँदैनथ्यो ।’

उनल थपे—‘म र साथीहरु मिलेर हामी बस्ने स्टेडियम नजिकै रहेको म्याकडोनाल्ड्समा जान्थ्यौँ । हामी म्याकडोनाल्ड्सको पछाडि रहेको ढोकामा जान्थ्यौँ र ढक्ढक्याउँथ्यौ अनि बर्गर बाँकी छ भनेर सोध्थ्यौं । त्यहाँ काम गर्ने महिलाहरूलाई हामीसँग पैसा नहुने कुरा थाहा हुन्थ्यो । त्यसैले तिनीहरूले त्यहाँ बाँकी रहेका बर्गरहरू दिन्थे ।”

रोनाल्डोले भने–“ती महिलाहरु असाध्यै असल थिए, मैले अहिले धेरै कोशिस गर्दा पनि ती महिलाहरूलाई भेटाउन सकेको छैन । शायद उनीहरूले कहिल्यै सोचेका थिएनन् होला कि म नै त्यो बच्चा हुँ भनेर ।”

रोनाल्डोले पोर्चुगलका केही व्यक्तिहरूसँग ती महिलाहरूलाई खोज्नको लागि कुरा गरेका थिए । ती महिलाहरूलाई खोज्ने प्रक्रिया सुरु भएको थियो । तर, जहाँ उनीहरुले काम गर्थे, त्यो वर्षौं पहिले नै बन्द भइसकेको थियो । रोनाल्डोले भने,–“ती महिलाहरूलाई भेट्न म यो अन्तर्वार्तामार्फत सहयोग हुन्छ की भन्ने आशा गर्छु । उनीहरुलाई भेटेमा म धेरै खुशी हुनेछु ।’
रोनाल्डोले ती महिलाहरूलाई भव्य निमन्त्रणा दिन चाहेको बताए । उनले आफ्नो बाल्यकालमा भोग्नुपरेको कष्ट र ती महिलाहरूले दिएका खानेकुरा सम्झेर आफ्नो जीवनमा आएको कठिनाईहरूको बारेमा खुलासा गर्दै भने,–“मेरो बुबाले मदिरा सेवनका गम्भीर समस्याहरू भोग्नु परेको थियो । मेरो आमा अर्काको घर सफा र खाना पकाउने काम गरेर हामी बच्चाहरुलाई खानाको जोहो गर्न तल्लीन रहन्थिन् ।”

क्रिस्टियानो चार जना भाइबहिनीहरूमध्ये कान्छो हुन् । १२ वर्षको उमेरमा उनले पाएको एक अवसरले उनी अहिले यो अवस्थामा पुगेका हुन् । स्पोर्टिङ लिस्बनले उनलाई व्यवसायिक खेलाडी बन्नको लागि साइन गरेको थियो । उनले भने,–“म १२ वर्षको थिएँ, पैसा थिएन र घरदेखि टाढा अन्य खेलाडीहरूसँग बस्नुपर्ने थियो । त्यतिबेला ती महिलाहरूले मलाई खाना दिएका सम्झिए । भोकाएको बच्चाहरूलाई निःशुल्क बर्गर दिने गरेका ती महिलाहरूलाई कहिल्यै फेरी भेट्न पाएन।

उनले अन्तर्वार्तालाई प्रयोग गरेर एक अपील पनि गर्दै भने,–“म ती महिलाहरूलाई ट्यूरिन वा लिस्बनमा मेरो घरमा रात्रिभोजको निमन्त्रणा दिन चाहन्छु र उनीहरूलाई भेट्न चाहन्छु । म ती महिलाहरूलाई केही फर्काउन चाहन्छु, किनभने त्यो अवधि एक महत्वपूर्ण समय थियो । त्यो कुरा म कहिल्यै बिर्सन सक्दिन ।”

अन्तरवार्ताले काम पनि गर्‍यो

पोर्चुगलको एउटा रेडियो स्टेशनले तिनीहरूमध्येका पाउला लेका नाम गरेकी एक जना महिलालाई फेला पा¥यो । महिलाले भनिन्–“मैले फेसबुकमा देखेँ, मेरो श्रीमानले उक्त अन्तर्वार्ताको बारेमा मलाई बताए, जसमा रोनाल्डोले मेरो नाम लेखेर निमन्त्रणा दिएको थियो ।”

शुुरुमा श्रीमानको कुरा सत्य होइन भनेर र नपत्याएकी उनले त्यसलाई ध्यान नदिएको बताइन् । उनले भनिन्,–“१५ वर्षको हुँदा मैले बर्गर पसलमा काम गरेकी थिएँ। मैले त्यतिबेला मद्दत गरेका बच्चामध्ये एक विश्वका महान खेलाडी बनेको थाहा नै पाइन । उनीहरू रेस्टुरेन्टको अगाडि आउँथे। अनि बाँकी रहेका बर्गरहरू हाम्रो प्रबन्धकले तिनीहरूलाई बांड्न अनुमति दिन्थे । तर, रोनाल्डो भने सँधै पछाडि बस्ने गर्दथे, उनी केही मिटरको दूरीमा बस्थे ।

२० वर्षभन्दा बढी समयअघिका ती बच्चाले आज आफ्नो घरमा खानाका लागि निमन्त्रणा गर्लान भनेर पत्याउनै गा¥हो परेको उनले बताइन् । पाउला लेकाले रेडियो शोमा भनिन्–“कसैले पनि कुनै समय मैले रोनाल्डोलाई खाना खुवाएको कुरा विश्वास गर्दैनन् ।”

तर, यो कहानी अझै सकेको छैन । पाउला अझै अन्य दुई महिलाको खोजीमा छिन् । रोनाल्डो समक्ष उनले ती महिलाहरूलाई खोज्ने कार्य जारी राख्ने वाचा गरेकी छन् । उनले कहिल्यै सोचिनन् कि बर्गर माग्ने सानो बच्चाको जीवन यात्रा यस्तो हुनेछ भनेर । विश्वका एक उत्कृष्ट खेलाडी बन्नेछन् र उनले ती महिलाहरूलाई सम्झेर वर्षौंपछि धन्यवाद दिनेछन् भनेर ।