८ महिनामा नेपाल भित्रिए ७ लाखभन्दा धेरै पर्यटक


काठमाडौं ।

सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

बोर्डका अनुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। यो अवधिमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन्। सन् २०२३ को अगस्तको तुलनामा यो वर्षको यही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन्।

गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल भित्रिएका छन्। बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए। उनले छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहितअन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने विश्वास व्यक्त गरे।

बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट छ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२२ को अगस्तमा ४१ हजार तीन सय चार, सन् २०२१ को सोही अवधिमा छ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ विदेशी पर्यटक नेपाल आएका थिए।

कुन महिनामा कति पर्यटक?

मार्च महिनामा सबैभन्दा बढी एक लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्तमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन्।