यसपटकको निजामती पुरस्कार ‘हाम्राले पाउलान् कि राम्रा’ले ?


–विभिन्न मन्त्रालय र निकायबाट भए १६२ जना सिफारिस
–पुरस्कारका लागि ४० वा ४१ जना छानिने
–सर्वोत्कृष्ट कर्मचारी भेटिएलान् कि नभेटिएलान् ?

काठमाडौं ।

सरकारले हरेक २२ भदौका दिन मनाउने निजामती सेवा दिवसका दिन उत्कृष्ट काम गरेका निजामती कर्मचारीमध्येबाट ४० वा ४१ जनालाई छनोट गरी पुरस्कार प्रदान गर्दै आएको छ । २ लाखको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार १ जनाले पाउने कानुनी प्रावधान छ तर सरकारले पछिल्ला केही वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी नै पाउन नसकेपछि सो पुरस्कार रोक्दै आएको छ । तर, १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजारको निजामती सेवा पुुरस्कार ३० जनालाई गरी ४० जनालाई भने नियमित रूपमा नै पुरस्कार वितरण गरिँदै आइएको छ ।

यसपटक सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्न सक्ला कि नसक्ला ? गम्भीर प्रश्न छ। यद्यपि, सरकारले पुरस्कार दिनका लागि आन्तरिक रूपमा छलफल र छनोट प्रक्रिया थालिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सरकारको यो प्रक्रियासँगै पुरस्कार पाउनेहरू कस्ता होलान् ? भन्ने जिज्ञासा पैदा भएको छ भने विभिन्न मन्त्रालयबाट पुरस्कारका लागि सिफारिस भई आएकाहरूसमेत आफ्नो नाम समाविष्ट गर्न सोहीअनुसार लबिङमा लागिरहेको बताइएको छ।

पुरस्कार सिफारिस समितिले पुरस्कार पाउनेहरूको छनोट प्रक्रिया जारी राख्दै आइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय र देशभरका संघीय कार्यालयहरूबाट पुरस्कारको लागि जम्मा १६२ जनाको नाम सिफारिस भई आएको छ। सो मन्त्रालयका सहसचिव उमेश ढकालका अनुसार विभिन्न मन्त्रालयबाट सिफारिस भई आएका १६२ जनामध्येबाट ४० वा ४१ जनाको नाम अन्तिम रूपमा छनोट गरी सरकारसमक्ष सिफारिस गरिने छ।

यसका लागि मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार सिफारिस समितिले पुरस्कारका लागि अन्य निकायबाट सिफारिस भई आएकाहरूलाई छनोटका लागि छलफल गरिरहेको र ती व्यक्तिका बारेमा जानकारी लिने काम गरिरहेको बताइएको छ। मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार सिफारिस समितिमा सदस्यका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक जना सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सरकारले तोकेका अर्का एक सचिव तथा सेवानिवृत्तमध्येबाट सरकारले तोकेका अर्का एक सचिव सदस्य रहनेछन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कार प्रदान गर्नका लागि पुरस्कारसम्बन्धी मापदण्ड बनाएको छ र निजामती सेवा ऐन नियमवालीमा समेत स्पष्ट मापदण्ड उल्लेख गरिएको छ। मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार छनोट र सिफारिस समितिले सोही मापदण्डका आधारमा पुरस्कार छनोट गरी अन्तिम रूप दिने र मन्त्रिपरिषद्मा पेस गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।

‘अहिले सोही मापदण्डका आधारमा विभिन्न निकायबाट आएका नामहरूलाई अन्तिम रूप दिएर छनोट गर्ने काम भइरहेको छ, छिटै टुंगोमा पुग्ला’ –मन्त्रालयका प्रवक्ता पराजुलीले भन्नुभयो । पुरस्कार छनोटसम्बन्धी मापदण्डका आधारमा राम्रो र असल कार्य गरेको, बेरुजु कायम नभएको, कुनै प्रकारको कारबाही नभोगेकोलगायत रहेका छन् । तर, यसअघि छनोट गर्दा आधार र मापदण्डभन्दा पनि निकटता र सोर्सफोर्सधारीहरूले नै बढी पुरस्कार पाउँदै आएका थिए । दूरदराजमा रहेर महत्वपूर्ण कार्य गरेका र योगदान दिएकाहरू भने पुरस्कारको सूचीमा पर्ने गर्दैनन् ।

यसअघि दिइँदै आइएको निजामती सेवा पुरस्कार प्रायः विवादमा पर्दै आइरहेको छ । उच्च पदस्थहरूले राम्रो काम गरेको र कार्यसम्पादन उत्कृष्ट भएकालाई सिफारिस गर्न छोडेर आफू निकटका कर्मचारीलाई सिफारिस गर्ने गरेका तिनै निकटका कर्मचारीहरू अत्यधिक संख्यामा पुरस्कृत हुने गर्दा राम्रो मान्छेहरूले अवसर पाउन नसकेको भन्दै यसअघिका पुरस्कारहरू विवादमा पर्दै आएका थिए। यसपटक मुख्य सचिवको अध्यक्षतामा रहने पुरस्कार छनोट तथा सिफारिस समितिले कार्यसम्पादन, दक्षता र क्षमताका आधारमा हाम्राभन्दा पनि राम्रा मान्छे छनोट गरी विवाद हुन नदिने लक्ष्य राखेको बताइएको छ।

कुन पुरस्कार कति राशिको ?
क. १ जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार : २ लाख
ख. १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार : १–१ लाख
ग. ३० जनालाई निजामती सेवा पुरस्कार : ५०–५० हजार