मामाघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु


महेन्द्रनगर ।

मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन्। मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन्। मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ।

पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए। तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।