रानी पोखरीलाई बिहान हिँडडुल गर्न खोल्ने तयारी : रात्रिकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने 

प्रमुख प्रशासकीय अधिकृतबाट पोखरी क्षेत्रको अवलोकन 


काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ । रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेका छौँ । आज पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘रात्रिकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौँ ।’

अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्ध नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरु विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरु सहभागी थिए । 

रानीपोखरीको अवलोकनपछि वडा नं. २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यस क्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए । त्यस क्रममा खड्गीले, वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नु पर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नु पर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणका काममा समन्वय बढाउनु पर्नेमा जोड दिँदै स्थानीय पूर्वाधार निर्माणका विषयमा जानकारी गराउनुभएको थियो । 

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले स्वास्थ्य विभागका प्रमुख दिपक के.सी. लाई फोन सम्पर्क गरेर आउँदो ७ दिनभित्र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न निर्देशन दिनुभयो । 

रानी पोखरीको विगत 

निर्माण कालमा करीब ५ बर्ष लगाएर यो पोखरी निर्माण गराएको थ्यासफूमा उल्लेख पाइन्छ । ई.सं. १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमान) का दिन पोखरीको शिलान्यास भएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीलाई नेपाल संवत् ८११  ई.सं. १६११) बाट न्हुरपुखुर (न्हुपुखु) भनिएको मानिन्छ ।

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । मन्दिर, पुलसहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ । 

वि. सं. २०७२ सालको भूकम्पले जीर्ण भएपछि पोखरीको पुननिर्माण गरिएको हो । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण गरिएको थियो । उपभोक्ता समितितर्फ गरिएको काममा, पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । यसको लागत ८ करोड १५ लाख रुपैयाँ हो । पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो । २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करिब २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको थियो ।