मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


मुगु। 

मुगु जिल्लाको सोरु गाउँपालिका-६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटना भएको हाे ।

सोरुकाेटदेखि गमगढी बजार तर्फ फर्किने क्रममा ग. १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा ब्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जनामध्ये जिप धनी आफै चालक रहेका सोरु गाउँपालिका-३ भिँईका नर बहादुर बुमिको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

इलाका प्रहरी चौकीकाअनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी ब्याक गर्दा बाहिर निस्केको र गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन ।

दुर्गम जिल्लाहरुमा प्रायः हुने सडक दुर्घटनाहरु साँघुरा सडक, सेप्टीवाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले नै हुने गरेका छन्।