पहिरो छल्दै छाेराछाेरी बोकेर  विद्यालय

2.16k
Shares

धादिङ। 

निरन्तरको वर्षा र केही दिनदेखिको पहिरो बाढी समेत आउन थालेपछि बढेको जोखिम भएपनि विद्यालयहरुले कक्षा सञ्चालन गरिरहँदा विद्यार्थीहरुले जोखिम मोल्न बाध्य भइरहेका छन् ।

धादिङबेसीबाट दार्खा पुुग्ने बाटो किन्ताङफेदीमा पहिरोले बन्द भएपछि सवारी साधन उत्तरतर्फ जान पाएको छैन । मङ्गलादेवी मावि नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ बोराङमा अध्यायनरत बालबालिका पहिरो पार गरेर विद्यालय आउँदा जोखिम मोलिरहेका छन् ।

नियमित पहिरो आइरहेको छ । विद्यालय खुल्ला भएकोले अभिभावक आफैँले बालबालिका बोकेर विद्यालय ल्याउने गरेको विद्यालयका शिक्षक सरस्वती अधिकारीले बताए ।

पहिरो पार गरेर हरेक दिन २० जना विद्यार्थी विद्यालयसम्म आउनुपर्ने भएकोले उनीहरु जोखिम मोलेर पढाइलाई निरन्तरता दिइरहेका छन् ।
 
किन्ताङफेदी बजार पारगरेपछि खोलाछेउ माथिबाट  आएको पहिरोले मानिस हिड्न समेत नमिल्ने गरी  पहिरोले क्षतिग्रस्त बनाएको छ । तल आँखुखोला छ भने माथिबाट पहिरो आएकोले मानिसहरुलाई समस्या पारेको छ । पहाड फोरेर सडक उत्तर धादिङ लगिएकोले यस क्षेत्रबाट खनियाबास गाउँपालिका, रुबीभ्याली गाउँपालिका क्षेत्रको सडक सम्पर्क टुटेकोले सो क्षेत्रका मानिसले वर्षा सुरुभएपछि कष्टभोगेको रुबीभ्यालीका विजय तामाङले बताए ।
किन्ताङफेदीमात्र केराबारी क्षेत्रमा पहिरो गएपछि स्वास्थ्य चौकी सम्म जान समेत मानिसलाई समस्या परेको स्थानीय स्वास्थ्यकर्मी पवित्रा तामाङले बताए।

वर्षा सुरुभएपछि ठाउँ ठाउँमा पहिरो लड्ने र खोलाहरुमा बाढी आउन थालेपछि पुल नभएका कारण उत्तर धादिङको सम्पर्क टुट्ने गरेको छ ।
बिरामी हुने र विद्यालय जाने विद्यार्थीहरुले नियमित रुपमा यस क्षेत्रमा वषैँदेखि दुख पाएका छन् ।

मानिससमेत आवतजावत बन्द हुनेगरी बाटो पहिरो लडेको एक महिना भइसक्दा पनि स्थानीय सरकारले भने अरुले गर्ला भनेर वेवास्ता गरेको अभिभावक बलबहादुर तामाङ बताउँछन् ।